युवापुस्ताको भावनासहित चुनावी मैदानमा : हिरा खत्री
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार हिराबहादुर खत्री यतिबेला जेनजी भावनालाई आत्मसाथ गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।
गत भदौं २३ जेनजीले जे माग राखेर आन्दोलन गरे त्यो माग पुरा हुनुपर्ने उनको भनाई छ । खत्रीले आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट गर्दा ठूला–ठूला घोषणा र प्रतिवद्धता होईन, अहिलेसम्म आफूले गरेका कामको विवरण प्रस्तुत गर्छन्।
विगतमा पार्टीबाट हुनेगरेका कमी कमजोरीप्रति आत्मआलोचना गर्दै अब एकढिक्का भएर भविष्य निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले करिब एक महिना अघि सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशनपछि पार्टीमा आएको परिवर्तनबारे जानकारी गराउँदै मत मागिरहेका छन् ।
काँग्रेसको इतिहास बुझ्ने मतदातालाई पार्टी बदलिएको सन्देश दिनु आफ्नो मुख्य उद्देश्य भएको उनले बताएका छन् । युवापुस्तासँग कुरा गर्दै उनले अब नेपाली काँग्रेस नयाँ सोच र नयाँ प्रतिबद्धतासहित अघि बढ्ने र जेनजी पुस्ताको भावना अनुसार देश निर्माण गर्ने प्रतिवद्धता गरेको बताए ।
‘काँग्रेसको इतिहास हेर्दा गर्व गर्न लायक धेरै क्षण छन्,’ उनले भने, ‘आठ दशक लामो यात्रामा केही कमजोरी पनि भएका छन्, तर ती थोरै मात्र हुन् ।’
विगतका गल्तीलाई आत्मसात् गर्दै पार्टी अघि बढिरहेको उनले स्पष्ट पारे। फागुन २१ गते हुने चुनाव जनप्रतिनिधिले होइन, भदौंको घटनापछि बनेको सरकारले गराउन लागेको पनि उनले उल्लेख गरे।
उनले भदौको घटनाबारे तत्कालीन महामन्त्रीले आफ्नो धारणा सार्वजनिक गरिसकेको र विशेष महाधिवेशनपछि सभापतिमा निर्वाचित गगनकुमार थापाले पार्टीले अब त्यस घटनाबाट प्राप्त सन्देशलाई व्यवहार, काम र नीतिमा उतार्ने प्रतिबद्धता गरिसकेको बताए।
विगतमा परिवर्तनको चाहना बुझ्न नसक्दा जनतामा निराशा र आक्रोश बढेको र त्यसकै परिणाम जेनजी आन्दोलन भएको उनको भनाइ छ।
‘काँग्रेसले आफ्नो भागको गल्ती स्वीकार गरिसकेको छ,’ उनले भने, ‘यसपटक चुनावी मैदानमा नयाँ काँग्रेस उत्रिएको छ।’ उनका अनुसार नेतृत्वले समस्या उठाउने मात्र होइन, समाधान पनि सँगै लिएर हिँड्नुपर्छ।
सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका विषयमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी पार्टीले नयाँ नीति अपनाएको उनले बताए। यही परिवर्तनको सन्देश लिएर काँग्रेस जनताको घरदैलोमा पुगेको र युवामाझ यो कुरा पुर्याउनुपर्ने उनको जोड छ।
लामो समयदेखि दलहरूले सत्ता प्राप्तिका लागि जससँग पनि सम्झौता गर्ने प्रवृत्तिले आम मतदाता र युवापुस्तामा निराशा बढेको उनको भनाइ छ। यही विकृति अन्त्य गर्न काँग्रेसले नीतिगत सुधार गरेको उनले बताए।
समानुपातिक प्रणालीमार्फत नीति निर्माण तहमा पुग्न नसकेकालाई संसदमा पुर्याउने उद्देश्य राखिए पनि विगतमा एउटै व्यक्ति दोहोरिरहने गुनासो आएको उनले स्वीकार गरे।
ती गुनासा सम्बोधन गर्न अहिलेको नीतिले एक व्यक्ति एक पटक मात्र समानुपातिक सांसद बन्न पाउने, एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने, तीन पटकभन्दा बढी मन्त्री हुन नपाउने र चार पटकभन्दा बढी संसदको टिकट नपाउने व्यवस्था गरेको उनले जानकारी दिए।
‘नयाँ नीतिले धेरै गुनासोको सम्बोधन गरेको छ,’ उनले भने, ‘अब फेरिएको काँग्रेसबारे बुझाउँदै भोट माग्नु छ र युवाको मन जित्नु छ।’ उनले क्षेत्रगत विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको पनि बताए।
