केभिन रोहन स्मृति कराँते च्याम्पियनशिप सम्पन्न, नेपाललाई ९ स्वर्ण
काठमाडौं । छैटौँ मेयर कप तथा १०औँ केभिन रोहन स्मृति उपत्यकाव्यापी कराँते च्याम्पियनशिप आज भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र ८ रजत पदक जित्दा भारतले १ स्वर्ण र २ रजत पदक हासिल गरेको छ।
प्रतियोगिताअन्तर्गत पुरुष २५ केजीतर्फ आरोष हेम्जन प्रथम र भुवन राई द्वितीय भए। पुरुष ३० केजीतर्फ रमण मगर प्रथम तथा प्रेम नगरकोटी द्वितीय, पुरुष ३५ केजीतर्फ आदित्य महतो प्रथम र सुजन बस्नेत द्वितीय भए। त्यस्तै पुरुष ४० केजीतर्फ कृष्ण चन्द मोक्तान प्रथम र सरोज मल्ल द्वितीय, पुरुष ४५ केजीतर्फ सबिन गुरुङ प्रथम र मनोज अग्रहरी द्वितीय भए। पुरुष ५० केजीतर्फ सचिन खालिङ प्रथम र सलोन राई द्वितीय रहँदा खुला पुरुषतर्फ अनिलकुमार लोहार प्रथम तथा आशिष मोक्तान द्वितीय भएका छन्।
महिलातर्फ ३५ केजीमुनि उषा राना मगर प्रथम र आशिका डंगोल द्वितीय भए। महिला ४५ केजीतर्फ कुशुम थिङ प्रथम र क्रिजल सिलवाल द्वितीय हुँदा खुला महिलातर्फ रिमावती रेवाङ प्रथम तथा दिव्याना जोशी द्वितीय बनेका छन्।
समापन समारोहमा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा अन्तर्राष्ट्रिय क्योकुसिन कैकान एलाइड कराते एसोसिएसनका उपाध्यक्ष पिटर होगार्थ, कृष्ण गुरुङ, नेपाल प्रेस युनियनका सचिव तथा संयोजक छायाचन्द्र भण्डारीलगायतले विजेता खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो।
कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले दक्षिणकालीजस्तो पवित्र स्थलमा खेल प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै खेलले व्यक्तिगत स्वास्थ्य सुधार्नुका साथै राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रतियोगिताका अध्यक्ष विनोद गुरुङले स्थानीय खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरसम्म पुगून् भन्ने कामना गर्दै विजेता खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको संयोजन रामकुमार नगरकोटीले गरेका थिए।



