पोर्चुगलमा बाम-लोकतान्त्रिक लहर – एन्टोनियो सेगुरो बने नयाँ राष्ट्रपति

 पोर्चुगलमा बाम-लोकतान्त्रिक लहर – एन्टोनियो सेगुरो बने नयाँ राष्ट्रपति
दीपक भण्डारी
लिस्वन पोर्चुगल । खराब मौसम र भीषण आँधीका बीच सम्पन्न पोर्चुगलको राष्ट्रपति निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजा सार्वजनिक भएको छ। फेब्रुअरी ८ मा भएको निर्णायक मतदानमा सोसलिस्ट पार्टीका अनुभवी नेता एन्टोनियो जोजे सेगुरो भारी मतका साथ विजयी भएका छन्।
निर्वाचनको मुख्य नतिजा नियाल्दा एन्टोनियो जोजे सेगुरो ले ६६.७% र आन्द्रे भेन्टुरा ले ३३.३% भोट ल्याएका छन ।उग्र दक्षिणपन्थी धारका उम्मेदवार आन्द्रे भेन्टुरालाई करिब दोब्बर मतान्तरले पछि पार्दै सेगुरोले पोर्चुगलको राजनीतिमा आफ्नो दह्रो पकड साबित गरेका छन्। निर्वाचन आयोगका अनुसार, ६३ वर्षीय सेगुरोले देशको लोकतन्त्र रक्षा र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए, जसलाई पोर्चुगाली जनताले अनुमोदन गरेका छन्।
एन्टोनियो जोसे सेगुरो गणतन्त्रको नयाँ राष्ट्रपतिको रूपमा निर्वाचित हुने निश्चित भएका हुन। भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणका प्रारम्भिक सर्वेक्षण र प्रक्षेपणहरूले सेगुरोको भारी मतका साथ जित हुने पका देखाएको थियो।
सार्वजनिक भएका विभिन्न मत सर्वेक्षणका अनुसार सेगुरोले खसेको कुल मतको ६६ देखि ७३ प्रतिशतसम्म प्राप्त गर्ने अनुमान गरिएको थियो । यो फराकिलो अन्तरको नतिजाले उनलाई स्पष्ट बहुमतका साथ राष्ट्रको सर्वोच्च पदमा पुर्‍याएको हो ।
निर्वाचनको यो निर्णायक चरण अत्यन्तै शान्तिपूर्ण र सामान्य वातावरणमा सम्पन्न भएको छ । मतदान प्रक्रियाका क्रममा देशका कुनै पनि स्थानबाट ठूला अप्रिय घटना वा विवादको खबर आएको छैन । सुरक्षा व्यवस्था सुदृढ रहँदा र प्रक्रिया व्यवस्थित हुँदा आम नागरिकले बिना कुनै अवरोध आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेका छन् । सेगुरोको यो विजयसँगै अब मुलुकले नयाँ नेतृत्व र राजनीतिक दिशा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *