रामेछापको भलुवाजोरमा बस दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले गाडी साहुसहित पाँच जनाको शव निकालिएको पुष्टि गरे । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ०१-९९५ख९९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो । दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।
तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
