राज्य र नागरिकबीचको भरोसा जोगाउन भ्रष्टाचार नियन्त्रण अनिवार्य छ: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग राज्यको वैधानिकता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमाथिको गम्भीर चुनौती भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले आर्थिक क्षति मात्र नभई राज्य र नागरिकबीचको विश्वासमा गहिरो चोट पुर्याउने उल्लेख गरे।
राष्ट्रपति पौडेलले सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा शासन प्रणालीप्रति निराशा बढ्ने, कानुनप्रति आस्था कमजोर बन्ने र लोकतन्त्रको आधारभूत मूल्य नै प्रभावित हुने बताए। शक्ति र पदमा पुगेका व्यक्तिसमेत कानुनी जवाफदेहीताबाट मुक्त नहुने सन्देश आम नागरिकमा स्थापित गर्ने गरी आयोगले प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिए।
उनले सत्ता, शक्ति र धनको अनावश्यक मोहले भ्रष्टाचार बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै सदाचार, पारदर्शिता, निष्पक्षता र निर्भीकतालाई व्यवहारमा उतार्नुपर्ने बताए। नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारमार्फत अनुशासन र सुशासन प्रणाली सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।
लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन र सामाजिक न्यायका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताउँदै राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए। साथै उनले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुने बताए।
राजनीतिक पदाधिकारीको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन आए प्रशासनिक क्षेत्रमा पनि सुधार आउने विश्वास व्यक्त गर्दै उनले जनताको अपेक्षाअनुसारको सेवा प्रवाह, सुशासन र समृद्धि नै संविधान तथा लोकतान्त्रिक गणतन्त्रको मुख्य उद्देश्य भएको उल्लेख गरे।
