एलपी ग्यास अभाव हल्ला मात्र हो, बजारमा पर्याप्त आपूर्ति छ : नेपाल आयल निगम (भिडियो सहित)

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश

  • बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको सुनिन्छ । के साँच्चिकै आपूर्तिमा समस्या छ ?

हामीले हरेक महिना इन्डियन आयल कर्पोरेसन (IOC) बाट करिब ४९ हजार ५ सय मेट्रिक टन अर्थात करिब ३५ लाख सिलिन्डर बराबर ग्यास आयात गर्दै आएका छौँ ।

सामान्य अवस्थामा २८ देखि ३० लाख सिलिन्डर आयात हुँदा पनि बजारको माग धानिन्थ्यो । यस पटक भने माग बढेको अनुमानका आधारमा थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरी करिब ३६ लाख ५० हजार सिलिन्डर बराबरको पीडीओ जारी गरिएको छ । आपूर्तिको हिसाबले हेर्दा ग्यासको अभाव छैन ।

अहिले ६० वटा ग्यास उद्योगमध्ये दुई वटा उद्योगका सिलिन्डर बजारमा केही कम देखिएकाले तिनका उपभोक्ताले असहजता महसुस गरेका हुन् । तर त्यसको व्यवस्थापन भइसकेको छ ।

  • त्यसो भए किन बजारमा अभाव भएको जस्तो देखियो ?

निर्वाचनको समयमा सीमा बन्द हुन सक्ने हल्ला फैलिएको कारण उपभोक्ताले स्टक राख्ने प्रवृत्ति बढेको छ । विशेषगरी काठमाडौं उपत्यकामा माग अस्वाभाविक रूपमा बढेको छ ।

नेपाल ग्यास र एभरेस्ट ग्यासजस्ता धेरै उपभोक्ता भएका उद्योगले एकैपटक अतिरिक्त सिलिन्डर आपूर्ति गर्न नसक्दा अभावजस्तो देखिएको हो । यथार्थमा आपूर्तिको समस्या छैन ।

यसबीच केही समूहले नाजायज फाइदा लिन अभावको हल्ला फैलाएको पनि पाइएको छ ।

  •  बजारमा दुई–तीन सय रुपैयाँ बढी लिएर ग्यास बिक्री भइरहेको भन्ने गुनासो पनि आएको छ ।

हामीले अनुगमन गर्दा केही ठाउँमा बढी मूल्य लिएर सिलिन्डर उपलब्ध गराइदिन्छु भन्ने गतिविधि देखिएको छ । उपभोक्तालाई अनुरोध छ—बढी पैसा तिरेर ग्यास नकिन्नुस् ।
यदि कसैले बढी मूल्य मागेमा अनिवार्य रूपमा बिल लिनुहोस् । त्यस आधारमा कडा कारबाही गरिन्छ ।

  •  टेकुबाट वितरण सुरु गरिएको छ भन्ने सुन्नमा आएको छ । यसको उद्देश्य के हो ?

बजारमा अनावश्यक प्यानिक नफैलियोस् र साँच्चिकै ग्यास आवश्यक परेका वर्गले प्राथमिकता पाउन भन्ने उद्देश्यले टेकुस्थित निगमको परिसर उपलब्ध गराएर अस्थायी रूपमा सहजीकरण गरिएको हो ।

यसमा विशेषगरी एउटा वा दुई वटा मात्रै सिलिन्डर भएका, चुलो नै बन्द भएको अवस्था रहेका, विद्यार्थी, सुत्केरी, बिरामी तथा आर्थिक रूपमा कमजोर घरपरिवारलाई प्राथमिकता दिइएको छ ।
व्यावसायिक प्रतिष्ठानभन्दा घरायसी प्रयोजनलाई प्राथमिकता दिने गरी निर्देशन दिइएको छ ।

  • डिलरहरूले १०–१२ दिनसम्म ग्यास नदिने गरेको गुनासो छ ।

कतिपय अवस्थामा घरायसी प्रयोजनभन्दा व्यावसायिक प्रतिष्ठानमा बढी ग्यास गएको हुन सक्ने आशंका छ । त्यसैले सबै उद्योगलाई आफ्ना डिलर र बिक्री प्रणालीको अनुगमन गर्न निर्देशन दिएका छौँ ।

अबदेखि पहिलो प्राथमिकता घरायसी उपभोक्तालाई दिनुपर्नेछ ।
हामीले बिक्री बिल पनि कडाइका साथ जाँच गर्छौँ । एउटै व्यक्तिको नाममा २०–२५ वटा सिलिन्डर बिक्री गरिएको पाइएमा कारबाही गरिन्छ ।

  •  अबको केही दिनमा बजार सहज हुन्छ त ?

हुन्छ । अहिले त सम्बन्धित उद्योगहरूले आवश्यकभन्दा बढी नै ग्यास उठाइरहेका छन् ।
पहिले १२ दिनमा करिब ४०५ वटा बुलेट उठाउने उद्योगले अहिले करिब ५०५ बुलेटसम्म उठाइसकेका छन् ।

यसका आधारमा उपभोक्ताले चिन्ता लिनुपर्ने अवस्था छैन ।
बरु एक–दुई हप्तापछि बजारमा ग्यास पर्याप्त मात्रामा उपलब्ध हुने अवस्था आउँछ ।

  • ग्यास अभावको दीर्घकालीन समाधानका लागि निगमले के योजना बनाएको छ ?

एलपी ग्यास आयात गर्दा हामीसँग आफ्नै बुलेट (ढुवानी गाडी) नहुनु र भारतीय ढुवानीकर्तामै निर्भर रहनुपर्ने अवस्था दीर्घकालीन समस्या हो ।

यसलाई समाधान गर्न भारत सरकारसँग भएको संयुक्त कार्यदलको बैठकमा मोतिहारीदेखि अमलेखगञ्ज/सरलाही क्षेत्रसम्म एलपी ग्यास पाइपलाइन निर्माण गर्ने प्रस्ताव राखिएको छ ।
त्यसैगरी कम्तीमा २०–२५ दिन पुग्ने क्षमताको भण्डारण केन्द्र निर्माण गर्ने र आफ्नै बुलेटमार्फत बोटलरलाई ग्यास वितरण गर्ने योजना अघि बढाइएको छ ।

लगानी मोडालिटी टुंगो लाग्ने वित्तिकै निर्माण कार्य सुरु गर्ने तयारीमा छौँ ।

  •  दैलेखमा फेला परेको प्राकृतिक ग्यास प्रयोग गर्ने विषयमा निगमको भूमिका के हुन्छ ?

दैलेखमा देखिएको प्राकृतिक ग्यास चाँडो उत्खनन गरी प्रयोगमा ल्याउनु अत्यन्त जरुरी छ ।
नेपाल आयल निगमसँग म्यानपावर, पूर्वाधार र वितरण सञ्जाल भएकाले सरकारले जिम्मेवारी दिएमा उत्खननदेखि प्रशोधन र बजारीकरणसम्मको काम निगमले गर्न सक्छ ।

यसलाई कुकिङ ग्यासका रूपमा, यातायात क्षेत्रमा, उद्योगमा तथा भविष्यमा मल (फर्टिलाइजर) उत्पादनसम्म प्रयोग गर्न सकिन्छ ।
यसले आयात प्रतिस्थापन, व्यापार घाटा न्यूनीकरण र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्‍याउँछ ।

  •  के दैलेखको ग्यास नेपाली चुलोमा बल्न सक्छ ?

यसमा कुनै ‘रकेट साइन्स’ छैन । आवश्यक प्रविधि, जनशक्ति र अनुभव हामीसँग छ ।
आवश्यक परे भारतीय विज्ञको प्राविधिक सहयोग पनि उपलब्ध छ ।

यदि सरकारले नेपाल आयल निगमलाई जिम्मा दियो भने हामी चाँडै उत्खनन, प्रशोधन र वितरण प्रक्रियामा जान सक्छौँ ।
अन्य निजी कम्पनीमार्फत अघि बढ्दा प्रक्रिया ढिलो हुन सक्ने जोखिम हुन्छ ।

  • अन्त्यमा उपभोक्ताका लागि तपाईंको सन्देश के छ ?

बजारमा ग्यासको वास्तविक अभाव छैन । हल्लाको पछि लागेर बढी मूल्य तिरेर ग्यास किन्ने अवस्था छैन ।
घरायसी उपभोक्तालाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
कुनै पनि अनियमितता देखिएमा बिलसहित उजुरी गर्न अनुरोध गर्दछु ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *