पेरिसडाँडाबाट नेकपाले माग्यो सबै पक्षको इमानदार प्रतिबद्धता
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको संकट मोचन र राष्ट्रिय एकता सुदृढीकरणको निर्णायक मोडका रूपमा व्याख्या गरेको छ । मङ्गलवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा निर्वाचन परिचालन समितिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरेको हो ।
समितिका संयोजक अग्नीप्रसाद सापकोटाले देशलाई विद्यमान संकटबाट बाहिर निकाल्न र सार्वभौमसत्ताको रक्षाका लागि फागुन २१ को निर्वाचन ऐतिहासिक हुने बताए । उनले सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगलाई आफ्नो जिम्मेवारीमा उच्चतम इमानदारी र प्रतिबद्धता प्रदर्शन गर्न आह्वान गरेका छन ।
सापकोटाले देशभरबाट प्राप्त रिपोर्टहरूका आधारमा आगामी निर्वाचनमा नेकपा सबैभन्दा ठूलो र पहिलो राजनीतिक शक्तिको रूपमा उदय हुने दाबी गरेका छन । उनले जनताको विश्वास र भरोसा आफ्नो पार्टीमाथि बढिरहेको उल्लेख गर्दै इतिहासका उपलब्धि रक्षाका लागि नेकपा मात्र सक्षम रहेको तर्क गरेका छन ।
निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाप्रति ध्यानाकर्षण गराउँदै नेकपाले केही सञ्चारमाध्यमहरूले नियोजित रूपमा पार्टीलाई अवमूल्यन गर्ने गरी गलत र भ्रामक समाचार फैलाइरहेको आरोप लगाएको छ । पत्रकारिताको न्यूनतम मान्यताविपरीत गरिने यस्ता प्रचारबाजी रोक्न पार्टीले आग्रह गरेको छ ।
निर्वाचन बिथोल्न चाहने तत्वहरू अझै सक्रिय रहेको उल्लेख गर्दै संयोजक सापकोटाले तोकिएकै समयमा सफलतापूर्वक चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले थप प्रभावकारी र सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन ।
