टी-२० विश्वकप : सुपर–८ समीकरण आज टुंगिँदै, पाकिस्तान दबाबमा
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ को समीकरण पूरा हुँदैछ। समूह ‘ए’ बाट अघिल्लो चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लागेसँगै सुपर–८ मा प्रवेश गर्ने सबै ८ टिमको सूची स्पष्ट हुनेछ। यसअघि अन्य समूहबाट छनोट हुने टोलीको टुंगो लागिसकेको छ।
समूह ‘ए’ मा भारत शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुगिसकेको छ। अब दिउँसो ३:१५ बजे हुने पाकिस्तान र नामिबियाबीचको खेलले अन्तिम टोलीको निर्णय गर्नेछ।
नामिबियाले पाकिस्तानलाई हराएमा अमेरिका सुपर–८ मा पुग्नेछ। पाकिस्तान विजयी भए पाकिस्तान नै अघिल्लो चरणमा प्रवेश गर्नेछ।
यससँगै पाकिस्तान ‘डु–अर–डाइ’ अवस्थामा मैदान उत्रिनेछ।
दिनको पहिलो खेलमा युएईले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका अपराजित रहँदै सुपर–८ मा पुगिसकेको छ र शतप्रतिशत जित कायम राख्ने लक्ष्यमा हुनेछ। यता युएई भने बलियो टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ। खेल बिहान ११:१५ बजे दिल्लीमा सुरु हुनेछ।
दिनको अन्तिम खेलमा भारत र नेदरल्यान्ड्स आमनेसामने हुनेछन्। अपराजित भारत शतप्रतिशत जितसहित सुपर–८ यात्रा टुंग्याउने लक्ष्यमा छ भने नेदरल्यान्ड्स सनसनीपूर्ण नतिजा निकाल्दै प्रतियोगिता सुखद अन्त्य गर्ने प्रयासमा हुनेछ। यस समूहबाट नेदरल्यान्ड्स र नामिबिया बाहिरिसकेका छन्।
समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वे सुपर–८ मा पुगिसकेका छन्। अस्ट्रेलिया भने समूह चरणबाटै बाहिरिएको छ।
समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ल्यान्डले स्थान बनाउँदा स्कटल्यान्ड, इटाली र नेपाल बाहिरिएका छन्। समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन्।
