पोखरा-काठमाडौं राजमार्गमा बस दुर्घटना, १८ जनाको ज्यान गयो
काठमाडौं । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १८ जनाको मृत्यु र २४ घाइते भएका छन् ।
आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
रातिको दुर्घटना भएकोले उद्धार कार्यमा कठिनाइ भएको छ । मृतकको पहिचान हुन नसके पनि चार महिला र १३ पुरुष रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर र काठमाडौंका विभिन्न अस्पतालहरूमा पठाइएको छ। केही घाइतेहरूको अवस्था अझै गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
