बालेन शाहको चुनावी एजेन्डा: स्थानीय अधिकारदेखि सुशासनसम्मको ‘वाचापत्र’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहले आगामी निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । शाहले आफ्नो घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिँदै सङ्घीय सांसदका रूपमा आफूले खेल्ने भूमिका र योजनाहरू प्रस्ट पारेका छन् ।
‘मेरो प्रतिबद्धता’ शीर्षक अन्तर्गत सार्वजनिक गरिएको उक्त वाचापत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, र रोजगारीलाई मुख्य प्राथमिकतामा राखिएको छ । शाहले विशेषगरी महिला, बालबालिका, पर्यटन, उद्योग, र भूमि व्यवस्थापनका क्षेत्रमा बुँदागत रूपमा आफ्ना योजनाहरू प्रस्तुत गरेका छन् ।
वाचापत्रका मुख्य बुँदाहरू:
संवैधानिक अधिकार: स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने ।
सुशासन र भ्रष्टाचार नियन्त्रण: संसद्को अग्रपङ्क्तिमा उभिएर बेथिति र भ्रष्टाचारविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने ।
समन्वयात्मक विकास: रास्वपाको सरकार गठन भएको खण्डमा तीनै तहका सरकारबीच समन्वय गरी ५ वर्षभित्र सबै योजनाहरू सम्पन्न गर्ने ।
सेवाभाव: राजनीतिलाई पेसा नभई शुद्ध सेवाका रूपमा अङ्गीकार गर्ने अठोट ।
वाचापत्र सार्वजनिक गर्दै नेता शाहले भनेका छन्, “राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन, सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन संसद्मा मेरो प्रभावकारी भूमिका रहनेछ ।”
झापा–५ मा बालेन शाहको उम्मेदवारी र यो वाचापत्रले चुनावी सरगर्मीलाई थप रोचक बनाएको छ । उनले कला, संस्कृति र वातावरण संरक्षणका मुद्दासमेत आफ्ना प्राथमिकतामा समेटेका छन् ।
