दोलखामा बुथ कब्जा रोक्न ‘एक्सन प्लान’, ५२ केन्द्र अति संवेदनशील सूचीमा
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखा जिल्ला फेरि एकपटक चर्चाको केन्द्रमा छ। विगतका निर्वाचनहरूमा ‘बुथ कब्जा’ र हिंसात्मक झडपका कारण पटक-पटक बदनाम बनेको यो जिल्लामा यसपटक निर्वाचन आयोग र सुरक्षा निकायले विशेष ‘एक्सन प्लान’ तयार पारेका छन्।
२०४६ देखि २०७९ सम्मका अधिकांश निर्वाचनमा यहाँ हिंसात्मक घटना भए । २०७० सालको संविधानसभा निर्वाचनमा मात्र एक दर्जनभन्दा बढी मतदानस्थलमा झडप हुँदा सुरक्षाकर्मीले सय राउण्डभन्दा बढी गोली चलाएको तथ्यांक छ । तर यसपटक त्यो स्तरको अराजकता दोहोरिन नदिने गरी तयारी गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
यस पटक निर्वाचनका लागि दोलखामा डीएसपीको सट्टा एसएसपीको नेतृत्वमा छुट्टै सुरक्षा बेस स्थापना गर्ने र सुरक्षाकर्मी संख्या बढाउने तयारी गरिएको छ । कुनै पनि हालतमा बुथ कब्जा र हिंसात्मक गतिविधि हुन नदिने गरि प्रहरीले सतर्कता अपनाएको छ । संवेदनशील सूचीकृत जिल्ला भएकाले नेपाली सेनाले समेत निर्वाचन लक्षित मोटरसाइकल गस्ती सुरु गरेको छ ।
चुनावी मैदान : ३३ उम्मेदवार, ४ महिला मात्र
यसपटक दोलखाको एकमात्र निर्वाचन क्षेत्रका लागि १४ दल र १९ स्वतन्त्र गरी कुल ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। चुनावी प्रतिस्पर्धा मुख्य गरी तीन पक्षबीच हुने देखिएको छ ।
नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी उम्मेदवारका रूपमा मैदानमा छन।
नेकपा एमालेबाट पूर्वमन्त्री पार्वत गुरुङ तेस्रो पटक संसद छिर्ने दाउका साथ प्रतिस्पर्धामा छन। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा इन्जिनियर जगदीश खरेलले परम्परागत शक्तिलाई चुनौती दिँदै छन।
यसका साथै नेकपा (माओवादी केन्द्र) बाट विशाल खड्का, राप्रपाका प्रविण कुमार ठोकर र उज्यालो नेपाल पार्टीका निमादोर्जी लामा पनि चुनावी दौडमा रहेका छन। कुल उम्मेदवारमध्ये महिलाको उपस्थिति भने निकै न्यून (मात्र ४ जना) रहेको छ।
सुरक्षा चुनौती : ५२ मतदानस्थल ‘अति संवेदनशील’
विगतमा वैत्यश्वर, मेलुङ र तामाकोशी जस्ता क्षेत्रमा भएका बुथ कब्जाका घटनालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्थामा आमूल परिवर्तन गरेको छ।
जिल्लाका ९५ मतदानस्थलमध्ये ५२ वटालाई ‘अति संवेदनशील’, २८ मतदानस्थल संवेदनशील र १५ वटा मतदानस्थल सामान्य सूचीमा राखिएको छ।
अति संवेदनशील मतदानस्थललाई थ्री-लेयर सुरक्षा घेरा मा राखेको छ जस्मा: भित्री घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिएको छ।
यसपटक शंकास्पद गतिविधि रोक्न मतदान केन्द्रहरूमा सीसीटीभी क्यामेरा र ड्रोनमार्फत हवाई गस्ती गर्ने तयारी मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाताको मनोविज्ञान र बदलिँदो माहोल
दोलखाका मतदाताहरूमा अझै पनि “हातबाटै मत खोसिने” डर कायम छ। तर, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यसपटक विगतको पुनरावृत्ति हुन नदिने र मतदाताले निर्धक्क भएर भोट हाल्न पाउने वातावरण सुनिश्चित गरिएको बताएका छन्। राजनीतिक दलहरूले भने घरदैलो अभियानमा ‘शान्तिपूर्ण निर्वाचन’ को प्रतिबद्धता जनाइरहेका छन्।
दोलखामा यसपटकको लडाइँ केवल राजनीतिक दलहरूबीच मात्र होइन, बरु ‘पुरानो प्रवृत्ति’ र ‘स्वच्छ निर्वाचन’ बीचको पनि हो। यदि सुरक्षा संयन्त्रले बुथ कब्जा रोक्न सक्यो भने नयाँ अनुहार र पुराना हस्तीहरूबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ।
