रवि लामिछानेको मतदातालाई अपील: पैसामा भविष्य नबेच्नुहोस्, गलत मान्छे रोज्दा पाप लाग्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न निर्वाचनको पूर्वसन्ध्यामा मतदाताहरूलाई सचेत गराउँदै गलत व्यक्तिको प्रलोभनमा नपर्न आग्रह गरेका छन्। बुधबार सिरहाको मिर्चैयामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले पैसाको बलमा राजनीति गर्नेहरूबाट जोगिन चेतावनी दिए।
सभापति लामिछानेले चुनावका बेला मतदातालाई आर्थिक प्रलोभन देखाउने प्रवृत्तिमाथि कडा प्रहार गरे। उनले भने, “पैसामा आफ्नो भविष्य नबेच्नुहोला। यदि कसैले पैसा दिन्छ भने लिए हुन्छ, किनकि त्यो हाम्रै चोरेको पैसा हो। आफ्नै पैसा चोरेर कसैले बाँड्छ भने लिँदा पाप लाग्दैन, तर पैसा लिएर गलत मान्छेलाई भोट हाल्नुभयो भने चाहिँ पक्कै पाप लाग्छ।”
मधेसको सामाजिक सद्भावको प्रशंसा गर्दै लामिछानेले समाजलाई टुक्राउन खोज्ने तत्वहरू विरुद्ध मत दिन आग्रह गरे। “वर्षौंदेखि हामी विभिन्न जातजाति र धर्मावलम्बीहरू मिलेर बसेका छौँ। धर्म र जातका नाममा हामीलाई अलग गर्न खोज्नेहरूलाई यसपालि भोट नदिनुहोला,” उनले थपे।
आगामी फागुन २१ गतेको निर्वाचनलाई उनले देश र मधेसको परिवर्तनको महत्त्वपूर्ण मोडका रूपमा प्रस्तुत गरे। आफ्नो आस्था र राजनीतिलाई फरक राख्न सुझाव दिँदै उनले भने:
“जात आफ्नो छ, धर्म आफ्नो छ, तर राजनीति अब्बल मान्छेले चलाउने कुरा हो। अब इतिहास बदल्न धेरै दिन बाँकी छैन। देश र मधेसले यसपटक नयाँ इतिहास लेख्दै छ।”
लामिछाने यतिबेला चुनावी अभियानको सिलसिलामा मधेसका विभिन्न जिल्लाहरूको भ्रमणमा छन्। उनले फागुन २१ को निर्वाचनलाई पुरानो बेथितिको अन्त्य र नयाँ युगको सुरुवातको अवसरको रूपमा व्याख्या गरेका छन्।
