रास्वपाले दिउँसै रात पार्न खोज्यो, भ्रष्टाचारको पोको बोकेर सुशासनको गफ: कांग्रेस प्रवक्ता देवराज चालिसे

 रास्वपाले दिउँसै रात पार्न खोज्यो, भ्रष्टाचारको पोको बोकेर सुशासनको गफ: कांग्रेस प्रवक्ता देवराज चालिसे

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसको नेतृत्वमाथि कडा टिप्पणी गर्दै गम्भीर आरोप लगाएका छन्। प्रवक्ता चालिसेले रास्वपाले जनतालाई भ्रममा पारेर “दिउँसै रात पार्न खोजेको” भन्दै पछिल्लो राजनीतिक प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता चालिसेले रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै भनेका छन्, ‘छर्लंगै देखिएका ठगी र भ्रष्टाचारका अभियोगहरूको ठुलो पोको बोकेर पनि सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिँदै हिँड्नु अचम्मको कुरा हो।’ उनले राजनीतिमा ‘छद्मभेषी’ प्रवृत्तिको दबदबा बढेको दाबी गरे।

नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा उदाएका नयाँ भनिएका दल र तिनका नेताहरू जनतालाई झुक्याउने कलामा अत्यन्तै पोख्त देखिएको चालिसेको भनाइ छ। उनले यसलाई सैन्य क्षेत्रमा प्रयोग हुने ‘क्यामोफ्लाज’ सँग तुलना गर्दै भने “जसरी जंगलमा हरियो लुगा लगाएर शत्रुको आँखाबाट बचिन्छ, त्यसरी नै राजनीतिमा आफ्नो वास्तविक अनुहार लुकाएर अर्कै रङ पोत्ने काम भइरहेको छ। दुर्भाग्यवश, नयाँ भनिएका केही नेताहरू यो कलामा अत्यन्तै निपुण देखिएका छन्।”

प्रवक्ता चालिसेले नेताहरूको वास्तविक चरित्र र उद्देश्य सार्वजनिक नहुँदा देशको विकास र लोकतन्त्र धरापमा पर्ने चेतावनी दिए।

गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनपछि प्रवक्ता नियुक्त भएका चालिसेले फागुन २१ को निर्वाचनको मुखमा रास्वपाप्रति निकै आक्रामक रणनीति अपनाएको देखिन्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *