असन अब शनिबार ‘भेहिकल फ्री’: रैथाने व्यापार प्रवर्द्धनको नयाँ पहल
काठमाडौं । काठमाडौँ महानगरपालिकाले व्यापारिक केन्द्र असनको मौलिक स्वरूपलाई पुनर्जीवित गर्न वैशाख ५ गतेदेखि विशेष अभियान सुरु गर्ने भएको छ। महानगरले असन क्षेत्रको सामाजिक र सांस्कृतिक ओज कायम राख्न हरेक शनिबार सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाउने निर्णय गरेको हो।
काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले असनलाई ‘सम्पदा मार्ग’का रूपमा विकास गर्ने लक्ष्यसहित यो योजना अघि सारेको हो। असनलाई ‘नुनदेखि सुनसम्म’ पाइने ऐतिहासिक थलोका रूपमा चिनाउँदै यहाँको प्राचीन र सांस्कृतिक महत्त्वलाई नयाँ पुस्तासम्म पुर्याउन सवारीमुक्त अभियान सहयोगी हुने विश्वास महानगरको छ।
यस कार्यक्रमअन्तर्गत वडा नम्बर २७ मा पर्ने कमलाक्षी चोक, भोटाहिटी र महाबौद्धबाट असनतर्फ आउने सवारीसाधनहरूलाई शनिबारका दिन निषेध गरिनेछ। यी क्षेत्रबाट आउजाउ गर्ने सवारीका लागि वैकल्पिक मार्गको व्यवस्था मिलाइएको छ भने पैदलयात्रीलाई सहजता र सुरक्षा प्रदान गर्न महानगर प्रहरी बललाई विशेष जिम्मेवारी सुम्पिएको छ।
स्थानीय समुदाय, क्लब र सङ्घसंस्थाको सहभागितामा सुरु हुन लागेको यो अभियानले वायु प्रदूषण घटाउनुका साथै सहरी वातावरणमा समेत सुधार ल्याउने वडाध्यक्ष योगेश खड्गीले बताए। यातायात व्यवस्थापनलाई चुस्त बनाउन उपत्यका ट्राफिक प्रहरी र महानगर प्रहरीले एकीकृत योजना तयार पारेका छन्, जसले गर्दा स्थानीय बासिन्दा र पर्यटकले झन्झटमुक्त असनको अनुभव गर्न पाउनेछन्।
