युद्धप्रभावित देशमा फसेका नेपालीको सुरक्षामा ध्यान दिन मानवअधिकार आयोगको माग
Screenshot
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारमा सरकारको ध्यानाकर्षण गराएको छ ।
मध्यपूर्वमा इजरायल,अमेरिका र इरानबीचको युद्ध चर्किएपछि आयोगले आइतबार विज्ञप्ति जारी गर्दैं त्यहाँ रहेका नेपालीको उद्धारमा ध्यान दिन भनेको हो ।
“युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणको लागि तथ्यांक संकलन गरी जोखिमको आँकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्धार गरी स्वदेश फर्काउन आयोग नेपाल सरकार तथा विदेशस्थित कूटनीतिक नियोगहरूलाई आग्रह गर्दछ,” आयोगले विज्ञप्तिमा भनेको छ ।
नेपाली नागरिकको सुरक्षा र उद्धारका कार्यमा आवश्यक समन्वय र सहयोग गर्न ती देशहरूमा रहेका गैरआवासीय नेपाली संघ/संगठनहरूलाई समेत आयोगले अनुरोध गरेको छ ।
इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरूमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूमा पर्न जाने प्रभावका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
युद्धका कारण नेपालीहरूमा पर्न जाने असुविधाप्रति आयोगले गम्भीर चासो र चिन्ता समेत प्रकट गरेको छ ।
“राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्दछ,” आयोगले भनेको छ ।
यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरूमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्यांक संकलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरूलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्ने भनाइ आयोगको छ ।
“यसका लागि सरकारले आफ्ना कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली संघ/संगठनहरूसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ ।
