मतदान लक्षित सुरक्षा: सीमा नाका तीन दिन बन्द
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द गरिएको छ ।
निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो । फागुन १८ गते राति १२ बजे देखि २१ गते राति १२ बजे सम्म ७२ घण्टाका लागि सिमाना सील गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
सीमा सिल गरिएपछि आयात निर्यात ठप्प भएका छन् भने आवतजावतमा समेत रोक लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
मोरङको करिब ६३ किलोमिटर भारतसँगको सीमा सिल भएपछि सुरक्षा सतर्कता बढाउन दुवै तर्फका सुरक्षा निकायहरूले आवश्यक गस्ती पेट्रोलिङ गर्न थालेका छन् ।
प्रमुख नाका तथा सहायक मार्गहरूमा चेकजाँच कडा पारिएको छ भने साना–ठूला सबै प्रकारका आवागमनमा निगरानी राखिएको छ । सीमा क्षेत्रमा अस्थायी सुरक्षा पोस्टसमेत स्थापना गरिएको छ ।
