देश, संविधान र मानवता जोगाउन सफल भयौँ : गृहमन्त्री अर्याल
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभर शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले खुसी व्यक्त गरेका छन्। निर्वाचनपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै उनले यसपटकको निर्वाचनलाई ऐतिहासिक र गुणस्तरीय संज्ञा दिएका छन्।
गृहमन्त्री अर्यालका अनुसार यो निर्वाचन केवल प्रक्रिया मात्र नभई मुलुकको अस्तित्वसँग जोडिएको थियो। उनले जोड दिँदै भने “यदि यो निर्वाचन समयमै हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै ठूलो जोखिममा पर्न सक्थ्यो। यो चुनावले यी सबै पक्षलाई जोगाउने प्रत्याभूति दिएको छ।”
निर्वाचनका क्रममा कतै पनि अप्रिय घटना नभएको र ‘एक थोपा रगत’ समेत नबगेको उनले दाबी गरेका छन्।
अर्यालले वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसा अन्त्य गर्न सफल भएको उल्लेख गर्दै यो निर्वाचनले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको बताए। “यसपालिको निर्वाचन अघिल्ला चुनावहरूको तुलनामा निकै गुणस्तरीय र सुदृढ रह्यो” उनले भने, “भविष्यमा आउने सरकारहरूले पनि शान्तिपूर्ण निर्वाचनको यो मानकलाई कायम राख्नेछन् भन्ने हाम्रो विश्वास छ।”
देशभर एकैसाथ शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनुलाई लोकतन्त्रको सुदृढीकरण र कानुनी शासनको विजयका रूपमा हेरिएको छ।
