धनुषा–१ मा परिणाम विवाद, मातृका यादवलाई विजयी घोषणा गर्न नेकपाको माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा-१ बाट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ ।
नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै विजयी भइसक्दा पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको जनाएका हुन् ।
निर्वाचन आयोगले फागुन १८ गते निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध साह सर्वोच्च गएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै आयोगले निर्वाचन परिणाम सार्वजनिक गरेको छैन।
यद्यपि, उम्मेदवार खारेज भएपछि रास्वपाले धेरै मत पाएको छ । नेकपाले भने साहको उम्मेदवारी नै नभएकाले सबैभन्दा बढी मत ल्याएका पार्टीका उम्मेदवार यादवलाई विजयी घोषणा गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग स्वयम्ले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय हो । कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन ।’
नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय गर्ने नेकपाको विश्वास छ।
