नेप्सेमा भारी गिरावट, ४६ अंकले घट्यो बजार

 नेप्सेमा भारी गिरावट, ४६ अंकले घट्यो बजार

काठमाडौं । शेयरबजार परिसूचक नेप्से बुधबार थप ४६ अंकमाथिले घट्न पुगेको छ । चुनाव लगत्तै १६२ अंकले बढेको बजारमा पुनः लगातार दुई दिन उच्च अंकको गिरावट आउँदै पूर्ववत् अवस्थामा फर्किएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४६.७८ अंकले घट्दै २ हजार ७९६.५७ अंकमा झरेको छ । अघिल्लो दिन ३२ अंकले घट्दै नेप्से सूचक २ हजार ८४३ अंकमा अडिएको थियो ।

उसो त आज नेप्से सूचकसँगै कारोबारमा समेत उच्च गिरावट आएको छ । नेप्सेका अनुसार आज १३ अर्ब १८ करोड २ लाख रूपैयाँ बराबरको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन २१ अर्ब २२ करोड रूपैयाँमाथिको शेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड बाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । जम्मा ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको अवस्था छ ।

तथापि, सालपा विकास बैंकको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले र रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.३३ प्रतिशतले बढेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *