प्रदूषणबाट राहतको संकेत: आजदेखि मौसममा क्रमिक सुधार हुने

 प्रदूषणबाट राहतको संकेत: आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौँ । विगत केही दिनदेखि घातक बन्दै गएको वायु प्रदूषण आजदेखि क्रमशः घट्दै जाने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, वायुमण्डलमा मौसमी गतिविधि बढ्न थालेकाले अबको केही दिनमा प्रदूषणको स्तरमा सुधार आउनेछ।

केही समयदेखि नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रहँदा र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसक्दा वायुमण्डलको तल्लो तहमा प्रदूषणका कणहरू संचित भएर बसेका थिए। पर्याप्त वर्षा र हावाको वहाव नहुँदा काठमाडौँ उपत्यकासहित देशका धेरै भूभागहरू बाक्लो तुवाँलोको चपेटामा परेका हुन्।

विज्ञको भनाइ: विभागले जारी गरेको पछिल्लो बुलेटिनमा भनिएको छ, “आजदेखि देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना देखिएको छ। यसले वायुमण्डलमा जमेर बसेको धुलो र धुवाँलाई पखाल्न मद्दत पुर्‍याउनेछ, जसका कारण आकाश बिस्तारै खुल्दै जानेछ।”

स्वास्थ्य सतर्कता: तुवाँलो र प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउन सक्ने भन्दै विभागले सर्वसाधारणलाई आवश्यक सुरक्षाका उपायहरू अपनाउन विशेष अनुरोध गरेको छ। घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न र अत्यावश्यक कामबाहेक बाहिर नजान स्वास्थ्य विज्ञहरूले समेत सुझाव दिएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *