मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रको सक्रियता: नियोगहरूलाई बजेट माग
-
ट्रान्जिटमा रहेका नेपालीको उद्धारका लागि १० वटा नियोगलाई १०/१० लाख रुपैयाँ माग।
-
युद्धको त्रासका कारण १७ लाखभन्दा बढी नेपाली जोखिममा; ५ हजारले मागे सुरक्षा।
-
साउदी, यूएई, कतार र इजरायलसहितका नियोगहरूलाई तत्काल बजेट पठाउने तयारी।
काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र युद्धको सम्भावनाका बीच त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धारका लागि सरकारले विशेष पहल सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी मध्यपूर्वका देशका ‘ट्रान्जिट’ मा रोकिएका र समस्यामा परेका नेपालीको तत्काल उद्धार गर्न त्यहाँस्थित नेपाली नियोगहरूलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार, यो बजेट तत्कालको आपतकालीन उद्धार र अत्यावश्यक कार्यका लागि माग गरिएको हो।
जोखिममा रहेका नेपाली र नियोगको तयारी: हाल अमेरिका, इजरायल र इरानबीचको बढ्दो सैन्य तनावका कारण मध्यपूर्वमा रहेका करिब १७ लाख २९ हजार नेपालीहरू त्रासमा छन्। मन्त्रालयका अनुसार, करिब ५ हजार नेपालीले आफूहरू असुरक्षित रहेको भन्दै उद्धारका लागि अपील गरिसकेका छन्।
विशेषगरी युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कुवेत, बहराइन, ओमान, कतार, इजिप्ट र इजरायलमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई यो बजेट परिचालन गरी नेपालीको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिइनेछ।
युद्धको राप मध्यपूर्वभर फैलिने जोखिम बढेसँगै सरकारले आफ्ना नागरिकको रक्षाका लागि कूटनीतिक र आर्थिक दुवै तयारी तीव्र पारेको छ। ट्रान्जिटमा अलपत्र पर्न सक्ने कामदारहरूको व्यवस्थापनलाई मन्त्रालयले अहिले प्राथमिकतामा राखेको छ।
