कार्यदलको निष्कर्ष: चालक थकान र कमजोर पूर्वाधारले धादिङ बस दुर्घटना

 कार्यदलको निष्कर्ष: चालक थकान र कमजोर पूर्वाधारले धादिङ बस दुर्घटना

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको बस दुर्घटनाको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन पेस गरेको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक तिवारीले घटनास्थल निरीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, यात्रुहरूसँग सोधपुछ तथा सडक पूर्वाधारको अवस्थाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताए । उनले सवारीसाधनमा कुनै यान्त्रिक खराबी नभेटिएको र चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि फेला नपरेको उल्लेख गरे ।

उनका अनुसार, चालकमा थकान रहेको देखिएको र सडक सुरक्षा पूर्वाधार पनि अपर्याप्त रहेका कारण दुर्घटना घटेको निष्कर्ष कार्यदलले निकालेको छ । उनले उपलब्ध तथ्य तथा प्रमाणको विश्लेषण गर्दा चालकले कुनै कारणवश सवारीमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा बस अचानक अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको देखिएको बताए । चालकमा देखिएको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलनका कारण दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको उनको भनाइ छ ।

“हामीले घटनास्थलको निरीक्षण गर्यौं । सवारीको यान्त्रिक परीक्षण पनि गर्यौँ । यात्रुहरूसँग सोधपुछ पनि गर्यौं । सडक पूर्वाधारको अवस्थाको विश्लेषण पनि गर्यौँ । र अन्य तथ्यहरु समेत विश्लेषण गरेर केही निष्कर्षसहित हामीले प्रतिवेदन तयार पारेका छौँ । मूलतः सवारीसाधनमा कुनै पनि यान्त्रिक खराबी देखिएन । चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि भेटिएन । चालकमा थकान रहेको देखियो । त्यसैगरी सडक सुरक्षा पूर्वाधार अपर्याप्त देखियो,” उनले भने ।

उनले भविष्यमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी चालकका लागि थकान व्यवस्थापन प्रणाली लागु गर्नुपर्ने, सडक सुरक्षा पूर्वाधार सुधार गर्नुपर्ने तथा रात्रिकालीन यात्रामा निगरानी बढाउनुपर्ने तथा सार्वजनिक यातायातमा क्यामेरा जडानका साथै ट्रयाकिङ प्रणाली जडान गर्न सिफारिस गरिएको समेत बताए ।

छानबिन प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले प्रतिवेदनको अध्ययन गरी कार्यान्वयनमा लैजाने बताए । उनले प्रतिवेदनको अध्ययन गरी आगामी दिनमा दुर्घटना हुन नदिने गरी सिफारिस गरेका विषयहरूको कार्यान्वयन गरिने उल्लेख गरे । न्युज एजेन्सी नेपाल

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *