डा.बाबु काजी थापा बने राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडको महाप्रबन्धकमा डा. बाबु काजी थापा नियुक्त भएका छन्। शनिबार बसेको २२८औँ बोर्ड बैठकले उनलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। थापाले चैत १ गतेदेखि कार्यभार सम्हाल्नेछन्।
यसअघि महाप्रबन्धक सुरेश थापाको राजीनामापछि वरिष्ठ अधिकृत गोपीकृष्ण भण्डारीले कायममुकायम महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए। महासंघले आवेदन दिएका उम्मेदवारमध्ये छोटो सूचीमा परेकामध्येबाट थापालाई सबैभन्दा बढी अंकका आधारमा नियुक्त गरेको हो।
नागार्जुन नगरपालिका–१ का स्थायी बासिन्दा थापा सार्वजनिक प्रशासन र समाजशास्त्रमा स्नातकोत्तर हुन्। उनीसँग कृषि विकास बैंकमा २५ वर्ष काम गरेको अनुभव छ। साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा परामर्शदाता र अनुसन्धान अधिकृतका रूपमा काम गरेको अनुभव पनि रहेको छ।
