पार्टीका शीर्ष नेताबाटै हेट स्पिच फैलिएको योगेश भट्टराईको दाबी
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताबाटै आफू लगायत अन्य नेताविरुद्ध घृणा र लान्छना फैलाउने काम भइरहेको दाबी गरेका छन । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र भइरहेको ‘मिसइन्फर्मेसन’ र ‘हेट स्पिच’ तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण पछिल्लो सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको जानकारी दिँदै भट्टराईले यस्तो शोकको घडीमा नकारात्मक टिप्पणी हुनु अशोभनीय भएको उल्लेख गरेका हुन्।
पार्टीभित्रैबाट नियोजित रूपमा भ्रम फैलाइएको संकेत गर्दै उनले भने, “यस बीचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ ।” उनले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आईडी यस्तो कार्यमा निकै सक्रिय रहेको समेत खुलाएका छन् ।
पार्टीको एकता जोगाउनु र गुमेको जनविश्वास पुनस् आर्जन गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ । भट्टराईले पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्न उपयुक्त समयमा स्थापित प्रक्रियामार्फत छलफल र बहस गर्न आवश्यक रहेको औँल्याएका छन् ।
“मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन र हेट स्पिच बन्द गरौँ,” उनले अगाडि भनेका छन्, “फेरि पनि भन्छु, आत्मभत्सर्ना होइन, जमेर आत्मसमीक्षा गरौँ ।”
