चैत ५ देखि भृकुटीमण्डपमा ‘२७ औं फ्लोरा एक्स्पो’ सुरु हुँदै

 चैत ५ देखि भृकुटीमण्डपमा ‘२७ औं फ्लोरा एक्स्पो’ सुरु हुँदै

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा चैत ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘२७ औँ फ्लोरा एक्स्पो’ २०८२ सञ्चालन हुने भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना हुन लागेको आज फ्यानले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्रदर्शनीमा व्यावसायिक स्टल ६५ वटा, अफिसियल स्टल ११ वटा, प्रतिस्पर्धात्मक स्टल २ वटा र फुड स्टल लगायत गरी जम्मा ८३ वटा स्टलहरू रहने आयोजकले जनाएको छ । यस मेलामा मौसमी फूल, बहुवर्षे फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी तथा नर्सरीका विभिन्न सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कक्षहरू रहनेछन् ।

मेलाको अवधिमा करिब ६० हजार अवलोकनकर्ताले भ्रमण गर्ने र १ करोड २० लाख रुपैयाँ भन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको दाबी छ । मेलामा पुष्प व्यवसायीहरूबिच उत्कृष्ट स्टल, उत्कृष्ट मौसमी फूल, र उत्कृष्ट आलङ्कारिक बिरुवा लगायतका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गराइनेछ ।

फ्यानले नेपालमा पुष्प व्यवसायमा लगानी बढ्दै गए पनि कारोबार भने घटिरहेको जनाएको छ ।

पुष्प व्यवसायले हाल ५२ वटा जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ । फ्यानका अनुसार यस क्षेत्रमा हालसम्म करिब ८ अर्ब ८३ करोड रुपैयाँको लगानी भइसकेको छ भने २७० हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती भइरहेको छ ।

यो व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ५३ हजार ५०० भन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । फ्यानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा हाल १ हजार १३५ भन्दा बढी पुष्प व्यवसायीहरू व्यावसायिक रूपमा संलग्न रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा करिब ३ अर्ब ८८ करोड रुपैयाँको वार्षिक कारोबार भएको यस क्षेत्रमा गत आर्थिक वर्ष २०८१/०८२ मा गिरावट आई ३ अर्ब ३७ करोडमा खुम्चिएको अनुमान गरिएको छ । विशेष गरी बीउ बिजन, बिरुवा र बिरुवा क्वारेन्टाइन सम्बन्धी नीतिगत समस्याका कारण व्यवसायीहरूले समयमा मदर प्लान्ट आयात गर्न नसक्दा आन्तरिक उत्पादनमा कमी आएको फ्यानले जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *