फागुनसम्म सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, प्रति नेपाली ९८ हजार भार

 फागुनसम्म सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, प्रति नेपाली ९८ हजार भार

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म आइपुग्दा नेपाल सरकारको सार्वजनिक ऋण उल्लेख्य रूपमा बढ्दै २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनदेखि फागुनसम्म मात्रै २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ ऋण थपिएको हो, जसले सरकारको वित्तीय अवस्था माथि दबाब बढ्दै गएको संकेत गरेको छ ।

हालको तथ्यांक अनुसार प्रत्येक नेपालीको थाप्लोमा करिब ९८ हजार रुपैयाँ ऋण पुगेको छ, जसले नागरिकस्तरमै ऋणको भार बढ्दै गएको देखाउँछ । कुल ऋणमध्ये १५ खर्ब ३० अर्ब रुपैयाँ बाह्य ऋण र १३ खर्ब ४८ अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको छ । यसमा बाह्य ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋण ४६.८४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

अर्थतन्त्रको आकारसँग तुलना गर्दा सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत पुगेको छ, जुन स्तरलाई अर्थविद्हरूले सावधानी अपनाउनुपर्ने अवस्थाको रूपमा लिने गरेका छन् ।

चालु आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण आठ महिनामै उल्लेख्य रूपमा बढ्नुले सरकारको आम्दानी र खर्चबीचको असन्तुलन प्रस्ट पारेको छ । सरकारले चालु वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा फागुनसम्म २ खर्ब ९५ अर्ब रुपैयाँ उठाइसकेको छ, जसका कारण आगामी महिनामा ऋण अझै बढ्ने संकेत देखिएको छ ।

विश्लेषकहरूका अनुसार बढ्दो ऋणको प्रभाव त्यसको उपयोगमा निर्भर रहनेछ । उत्पादनशील क्षेत्रमा लगानी भए आर्थिक वृद्धि सम्भव भए पनि अनुत्पादक खर्चमा प्रयोग भए दीर्घकालमा अर्थतन्त्रमा थप जोखिम सिर्जना हुन सक्ने देखिन्छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *