नवनिर्वाचित रास्वपा सांसदहरूको दुईदिने अभिमुखीकरण सुरु

 नवनिर्वाचित रास्वपा सांसदहरूको दुईदिने अभिमुखीकरण सुरु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको लागि दुईदिने अभिमुखीकरण कार्यक्रम ललितपुरमा ग्वार्कोस्थित रोयल टुलिप होटलमा आजदेखि सुरु गरेको छ। कार्यक्रम मार्फत सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ।

 

अभिमुखीकरणको पहिलो दिन उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले उद्घाटन मन्तव्य दिनेछन्। कार्यक्रममा महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद तथा पूर्वसचिव सुरेश अधिकारी, कानुन सचिव तोयानाथ अधिकारी र अन्य प्रशिक्षकहरूले संसदीय प्रक्रिया, कानुन निर्माण, बजेट र योजना, संसद–नागरिक सम्बन्ध लगायत विषयमा प्रशिक्षण दिने कार्यसूची रहेको छ।

 

कार्यक्रममा सांसदहरूलाई समूहमा विभाजन गरी परिचय गराउने, सामूहिक कार्य गर्ने क्षमता विकास गर्ने तथा अन्तरक्रियात्मक छलफल गराइनेछ। चितवन–३ बाट निर्वाचित सोविता गौतम लगायत केही सांसदहरूले आफ्ना अनुभव साझा गर्नेछन्।

 

दोस्रो दिनको सत्र योग–ध्यानबाट सुरु हुने छ। एलपी भानु शर्माले योगाभ्यास र ध्यान सिकाउनेछन् भने राष्ट्रिय योजना आयोगका पूर्वसचिव तोयानारायण ज्ञवालीले योजना तर्जुमा, बजेट निर्माण र विन्यासबारे प्रशिक्षण दिनेछन्। त्यसपछि सांसदहरूलाई पार्टी र संसदको सम्बन्ध, प्राथमिकता निर्धारण तथा संसदीय आचारसंहितामा केन्द्रित छलफल गराइनेछ।

 

अभिमुखीकरणको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य दिनेछन्। रास्वपाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा विजय हासिल गरेको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *