राष्ट्रिय महिला लिग आजदेखि सुरु, उद्घाटन खेलमा एनआरटी र संकटा भिड्दै
काठमाडौँ । नेपाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग’ आज बुधबारदेखि ललितपुरको च्यासल रंगशालामा सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको यस लिगमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे सुरु हुने एन्फाले जनाएको छ । यस्तै, आज दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् ।
यसपटकको लिगमा विदेशी खेलाडीहरूको उपस्थिति विशेष चर्चाको विषय बनेको छ। बंगलादेशी राष्ट्रिय टोलीकी स्टार मिडफिल्डर सन्जिदा अख्तर झापा एफसीबाट मैदान उत्रनेछिन्। उनी नेपाली महिला लिग खेल्ने पहिलो बंगलादेशी खेलाडीसमेत हुन्। उनीसँगै अन्य टोलीहरूले पनि अफ्रिकी र दक्षिण एसियाली देशका खेलाडीहरू अनुबन्ध गरेका छन्।
लिग ‘सिंगल राउन्ड रोबिन’को आधारमा सञ्चालन हुनेछ। ४५ खेलपछि अंक तालिकाको शीर्ष ५ मा रहने टोलीहरू दोस्रो चरण अर्थात् ‘सुपर फाइभ’का लागि छनोट हुनेछन्। लिगको विजेताले नगद पुरस्कारसहित ट्रफी पाउनेछन्।
लिगमा एपीएफ क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, संकटा क्लव र त्रिभुवन आर्मी क्लब सहभागी छन् ।
