फेन्काद्वारा न्यू साउथ वेल्समा ५ सदस्यीय राज्य समिति गठन
सिड्नी । फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया (फेन्का) ले आफ्नो गतिविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले न्यू साउथ वेल्स राज्यमा ५ सदस्यीय एक्सन टिम गठन गरेको छ।
बिहीबार आयोजित छलफल तथा बैठकमार्फत गठन गरिएको उक्त टिममा डेपुटी कोर्डिनेटरमा चिरन तिवारी तथा सदस्यहरूमा क्रमशः सुमन न्यौपाने, आनन्द श्रेष्ठ, अन्जु शर्मा घिमिरे र अनिल ज्ञवाली रहेका छन्।
कार्यक्रम मुक्तिराम पोखरेल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा फेन्का अष्ट्रेलियाका सचिव डा. प्रकाश पौडेल तथा ग्रेटर सिड्नीका अध्यक्ष एवं फेन्का न्यू साउथ वेल्सका निवर्तमान कोर्डिनेटर विवमु हमाल लगायतको उपस्थिति रहेको थियो।
बैठकमा नवगठित एक्सन टिमले छरिएका सामुदायिक संस्थाहरूलाई एकत्रित गर्दै सहकार्य र समन्वय बढाउने, मानव स्रोत विकास तथा क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
अन्तरक्रियात्मक छलफलमा डा. राजु मानन्धर, सुमन न्यौपाने, बसन्तराज ओझा, जीवन मैनाली, चिरन तिवारी, अन्जु शर्मा घिमिरे, दीपकर अधिकारी लगायत सामुदायिक अगुवाहरूले आ-आफ्ना सुझाव राखेका थिए।
सन् २०१८ अगस्टमा अष्ट्रेलियामा स्थापना भएको फेन्का नेपाली संघसंस्थाहरूको साझा संयन्त्रका रूपमा सक्रिय रहँदै आएको छ। यस संस्थाले मानव स्रोत परिचालन, सहभागितामूलक सिकाइ, क्षमता अभिवृद्धि, नीतिगत पैरवी, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शिक्षा जागरण, नेतृत्व विकास, सशक्तिकरण, सुशासन र संस्थागत विकासका क्षेत्रमा काम गर्दै आएको छ।
हाल अष्ट्रेलियाभर १२१ वटा सामाजिक संघसंस्था फेन्कामा आबद्ध रहेका छन् भने न्यू साउथ वेल्समा ४७ संस्था सक्रिय रूपमा कार्यरत रहेका छन्।
