गगन थापाले दिए सभापति पदबाट राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले हालैको निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका हुन्।
पार्टी स्रोतका अनुसार चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामाबारे औपचारिक छलफल हुनेछ। राजीनामा दिने अधिकार सभापतिको भए पनि त्यसलाई स्वीकृत गर्ने वा नगर्ने निर्णय भने केन्द्रीय कार्यसमितिले गर्नेछ।
यसअघि भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो। तर सो महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
पार्टीभित्रको विवादका बीच थापा र शर्माले महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशन आयोजना गरेका थिए, जसले पुरानो नेतृत्वलाई विस्थापित गर्दै १३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। निर्वाचन आयोगले समेत उक्त कार्यसमितिलाई वैधानिकता दिएको थियो।
यद्यपि, निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा आएपछि थापाले जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। ‘अबकि बार, सय पार’ नारा दिएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटसहित जम्मा ३८ सिटमा सीमित भएको छ।
सभापति थापा स्वयं सर्लाही–४ बाट रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह सँग पराजित भएका थिए।
