संसदीय दलको नेतामा केसीको दाबी, ‘ससुरा’ टिप्पणीप्रति असन्तुष्टि

 संसदीय दलको नेतामा केसीको दाबी, ‘ससुरा’ टिप्पणीप्रति असन्तुष्टि

काठमाडौं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको संसदीय दलको नेतामा आफ्नो पनि दाबेदारी रहने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफू उक्त पदका स्वाभाविक दाबेदार भएको बताएका हुन्।

उनले आफू पार्टीभित्रका सिनियर नेतामध्ये एक भएको उल्लेख गर्दै लामो संसदीय अभ्यास र अनुभवका आधारमा आफ्नो दाबी प्रस्तुत गरेको बताए। “संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ,” उनले भने, “२०४७ सालदेखि संसद्मा कांग्रेसको भूमिकालाई अगाडि बढाउन मैले पनि महत्वपूर्ण योगदान दिएको छु।”

केसीले संसदीय दलको नेता चयन प्रक्रियामा सहमतिको आवश्यकता औंल्याउँदै अन्ततः सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कनुपर्ने धारणा राखे। उनले पार्टीभित्रको एकता र समझदारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

यसैबीच, उनले आफूलाई पार्टी सभापति गगनकुमार थापा का ‘ससुरा’ भनेर गरिने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक योगदानलाई ओझेलमा पार्ने गरी गरिएका यस्ता टिप्पणीप्रति आपत्ति जनाए।

के म गगन थापाको ससुरा भएर मात्रै चिनिएको हो? पार्टीमा मेरो कुनै योगदान छैन?” भन्दै उनले प्रश्न गरे। उनले आफ्नो लामो राजनीतिक यात्राको स्मरण गर्दै आफूले विभिन्न समयमा जेल जीवनसमेत भोगेको र पार्टी तथा लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रहेको बताए।

केसीले आफूले २०१८ सालदेखि नै राजनीतिक गतिविधिमा संलग्न हुँदै आएको उल्लेख गर्दै ६–७ वर्ष जेल जीवन बिताएको अनुभव पनि सुनाए। उनले त्यस्तो संघर्ष र योगदानका आधारमा आफूले पार्टीमा छुट्टै पहिचान बनाएको दाबी गरे।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *