नेपाल वायुसेवा निगम सुधारका लागि अध्ययन समिति गठन
काठमाडौं । नेपाल वायुसेवा निगमभित्र देखिएको भ्रष्टाचार, व्यवस्थापकीय बेथिति र सेवा सञ्चालनमा रहेका कमजोरीबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ। सचिवस्तरीय निर्णयमार्फत गठित समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
मन्त्रालयका अनुसार निगममा टिकटिङ व्यवस्थादेखि जहाज सञ्चालन, मर्मत–सम्भार, सेवा खरीद, कर्मचारी परिचालन तथा समग्र प्रशासनिक व्यवस्थापनसम्म सुधार आवश्यक देखिएकाले समिति गठन गरिएको हो। पछिल्लो समय निगमको सेवा विश्वसनीयता घट्दै जानु, संस्थागत साख कमजोर बन्नु र प्रतिस्पर्धात्मक क्षमता खस्किनु जस्ता समस्या देखिएको छ।
समितिको संयोजकमा नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकेश डंगोल रहेका छन्। सदस्यहरूमा उपसचिव (लेखा) रमेश पौडेल, कानुन अधिकृत आयाम शर्मा, एटिसी अधिकृत सुवर्णराज भट्टराई र उपसचिव गोकर्णप्रसाद उपाध्याय छन्। समितिलाई प्रमाण संकलन, अध्ययन, छानबिन तथा सुधारका लागि कार्यान्वयनयोग्य योजना तयार गर्ने जिम्मेवारी दिइएको छ।
मन्त्रालयले यसअघि पनि निगम सुधारका लागि पटक–पटक समिति गठन भए पनि अपेक्षित उपलब्धि नआएको उल्लेख गर्दै यसपटकको प्रतिवेदन कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएको छ। २०५८ सालदेखि हालसम्म नौवटा समिति तथा कार्यदल गठन भइसकेका छन्।
निगमको आर्थिक अवस्था पनि चिन्ताजनक छ। आर्थिक वर्ष २०८०/०८१ सम्म सञ्चित नोक्सानी १७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने आगामी आर्थिक वर्षमा यो २० अर्ब नाघ्ने अनुमान गरिएको छ। जहाज खरीदका लागि लिइएको ३४ अर्ब रुपैयाँ ऋण बढेर ५२ अर्ब रुपैयाँ पुगेको छ।
समितिले विगतका प्रतिवेदनहरूको समीक्षा गर्दै तत्काल, मध्यमकालीन र दीर्घकालीन सुधार योजना तयार गर्नेछ। साथै, कर्मचारी व्यवस्थापन, करार नियुक्ति, अनलाइन टिकट प्रणाली सुधार तथा अन्य वायुसेवा कम्पनीसँग प्रतिस्पर्धात्मक अवस्थाको अध्ययन गर्ने जिम्मेवारी पनि दिइएको छ।
