राखेप–एन्फा विवाद, नेपाल र हङकङ खेल रद्द

 राखेप–एन्फा विवाद, नेपाल र हङकङ खेल रद्द

काठमाडौं । नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आइतबार (चैत ८) दिनभरि आरोप–प्रत्यारोपको जुहारी नै चल्यो । र, यो विवाद फुटबलका निम्ति निकै खराब रह्यो । किनकि, नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्द हुन पुग्यो ।

लामो समयपछि नेपाली खेलाडीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाउनै लागेका थिए । राष्ट्रिय पुरुष फुटबल टिमका नवनियुक्त प्रशिक्षकको पनि यो पहिलो परीक्षा हुने थियो । तर, राखेपले दशरथ रंगशाला उपलब्ध गराउन स्वीकृति नदिएको भन्दै एन्फाले बाध्य भएर खेल रद्द गर्नुपरेको जनायो ।

खेल रद्दको सूचना सार्वजनिक भएको एक घण्टा नबित्दै राखेपले त्यसको प्रतिवाद गर्‍यो । र, एन्फालाई समयमै स्वीकृति दिएको पत्र सार्वजनिक गर्‍यो । साथै, एन्फालाई आफ्नो कमजोरी लुकाउन अरूलाई दोष नदिन राखेपले सावधानी गरायो ।

यसमा एन्फाले आज (चैत ९) बिहान एक विज्ञप्ति जारी गर्दै त्यसको पनि खण्डन गरेको छ । खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले ‘स्वीकृति प्रदान गरिसकिएको’ भनी प्रेस विज्ञप्ति जारी गरेकामा एन्फाले आश्चर्य प्रकट गरेको छ ।

यही चैत ५ गतेको पत्र चैत ८ मा सार्वजनिक गर्नुले राखेप प्रशासनको नियतमाथि शंका गर्दै एन्फाले भनेको छ, “राखेपले दाबी गरेअनुसार हालसम्म एन्फालाई कुनै पनि आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौँ ।”

एन्फालाई दोषारोपण गर्नुको सट्टा राखेपले आफ्नो प्रशासन चुस्तदुरुस्त राखी गलत नियतका कर्मचारीलाई आवश्यक कारबाही गर्न आग्रह गरिएको छ ।

एन्फाका अनुसार, एन्फाले मैदान स्वीकृतिका निम्ति आवश्यक सबैखाले निवेदन पेस गर्‍यो । र, दिनहुँ खेलकुद परिषद्‌मा धाउने काम गर्‍यो ।

विज्ञप्तिमा जनाइएअनुसार, एन्फाले पछिल्लोपटक चैत ६ गते अनुरोध गर्दा चैत ८ मा ‘पत्र लिन आउनू भनी मौखिक जानकारी दिइएको थियो । त्यसानुसार चैत ८ गते बिहान साढे १० देखि साढे १२ बजेसम्म दुई घण्टा एन्फाका कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृतिपत्र प्रदान गरिएन ।

तर, कर्मचारीले ‘एन्फाले निर्वाचन स्थगित गरेको पत्र नदिएसम्म मैदान नपाउने’ जवाफ दिएर रित्तो हात फर्काएको जनाइएको छ । अन्ततः अन्तर्राष्ट्रिय खेलको तयारीका निम्ति अत्यन्त सीमित समय बाँकी रहेकाले स्थगन गर्नुपरेको एन्फाको विज्ञप्तिमा उल्लेख छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *