कांग्रेस सभापित थापाद्वारा रास्वपा नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा व्यक्त
काठमाडौं ।नेपाली कांग्रेस सभापित गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हालैको निर्वाचनबाट प्राप्त स्पष्ट बहुमतका लागि बधाई दिएका छन्।
ललितपुरको सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपा नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गरे। उनले संविधानको भावना र युवाहरूको परिवर्तनमुखी आकांक्षाअनुसार सरकार सञ्चालन गर्न आग्रह गरे।
“रास्वपाले पाँच वर्षका लागि सरकार चलाउने जनादेश पाएको छ, यसका लागि पार्टी र व्यक्तिगत रूपमा बधाई दिन चाहन्छु,” थापाले भने, “संविधानको मर्म र नवयुवाको विद्रोही चेतनाअनुसार काम गर्दै सफल शासन सञ्चालन गर्ने अपेक्षा छ।”
थापाले वर्तमान राजनीतिक परिवेशमा प्रतिपक्षको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै कांग्रेसले नयाँ जिम्मेवारी पाएको बताए। सरकारलाई आवश्यक साथ दिने तर लोकतान्त्रिक मूल्य र प्रणालीको रक्षा गर्दै निगरानी पनि जारी राख्ने उनको भनाइ थियो।
“देश पाँच वर्ष अस्थिरताको दिशातर्फ जानु हुँदैन। सरकारलाई आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्नेछौं,” उनले जोड दिए।
