चैती छठको मुख्य दिन आज: अस्ताउँदो सूर्यको आराधना गरिँदै
काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ ।
नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै छ ।
पर्वको षष्ठी तिथिका दिन आज साँझ व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठी तिथिका साँझ व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर सबै प्रकारका अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेस र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । यसपर्वको दोस्रो दिन सोमबार व्रतालुले आ–आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई चैतीछठ पूजाका लागि निम्तो दिँदै खरना पर्व मनाएका थिए । षष्ठी तिथिमा चैती छठको मुख्य पूजा अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व मनाउँदै छन् । रासस
