कृषि विकास बैंकद्वारा १५०० भन्दा बढी विद्यार्थी र महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान

 कृषि विकास बैंकद्वारा १५०० भन्दा बढी विद्यार्थी र महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनि विक अभियान, २०२६’ अन्तर्गत १५०० भन्दा बढी विद्यार्थी र महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको छ। यो अभियान मार्च १६ देखि २२ सम्म सञ्चालन भएको थियो।

विश्वव्यापी रूपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनि विक यस वर्ष ‘स्मार्ट मनि टक्स’ नारासहित मनाइएको थियो। यसअन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो।

बैंकका अनुसार, अभियानमार्फत विद्यार्थी र युवाहरुलाई बचत गर्ने बानी, कर्जा लगानी, कर्जाको सदुपयोग, डिजिटल बैंकिङ सेवाहरु, वित्तीय ठगी लगायतका विषयमा सचेतना र अभिमुखीकरण प्रदान गरिएको छ। कार्यक्रम बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन गरिएको थियो।

त्यसैगरी, बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्री उत्पादन गरी प्रकाशन र प्रसारण समेत गर्दै आएको छ। यस अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्वको एक भागका रूपमा लिइएको बैंकले जनाएको छ।

कृषि विकास बैंकले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सामाजिक उद्यमशीलता, विकास, रोजगारी सिर्जना र दिगो विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *