अख्तियारको नाममा नक्कली फेसबुक पेजबाट भ्रामक सूचना फैलिएको भन्दै सचेत रहन आग्रह

 अख्तियारको नाममा नक्कली फेसबुक पेजबाट भ्रामक सूचना फैलिएको भन्दै सचेत रहन आग्रह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आफ्नो नाम र प्रवक्ताको विवरण दुरुपयोग गर्दै सामाजिक सञ्जालमा अनधिकृत तथा भ्रामक सूचना फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले एक सूचना जारी गर्दै प्रवक्ता तथा सहायक प्रवक्ताको नामसमेत प्रयोग गरी नक्कली फेसबुक पेजमार्फत गलत सूचना प्रवाह भइरहेको जानकारी दिएको हो।

आयोगका अनुसार आधिकारिक सूचना तथा निर्णयहरू केवल आधिकारिक वेबसाइट, फेसबुक पेज र एक्स (ट्विटर) ह्यान्डलमार्फत मात्र सार्वजनिक गरिँदै आएको छ।

त्यसैले आयोगले ती आधिकारिक माध्यमबाहेक अन्य सामाजिक सञ्जालबाट फैलाइएका सूचना भ्रामक हुन सक्ने भएकाले त्यस्ता सामग्रीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले सर्वसाधारणलाई यस्ता अनधिकृत सूचना तथा नक्कली पेजबाट भ्रमित नहुन आग्रह गरेका छन्।

हाल अख्तियारको नाममा नक्कली फेसबुक पेज बनाएर सूचना प्रसारण गर्ने कार्य बढ्दो देखिएको भन्दै आयोगले यस्ता गतिविधिविरुद्ध आवश्यक कारबाही अघि बढाइने पनि जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *