इस्लामाबादमा अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता निष्कर्षबिना सकियो
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा २१ घण्टासम्म चलेको अमेरिका र इरानबीचको उच्चस्तरीय ‘म्याराथन’ वार्ता अन्ततः कुनै ठोस निष्कर्षबिना टुङ्गिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफबीच भएको यो घनीभूत संवादले विश्वभर आशा जगाए पनि अन्तिममा ‘शून्य नतिजा’ हात लागेको छ। दशकौँको अविश्वास र ४० दिनको प्रत्यक्ष युद्धको पृष्ठभूमिमा भएको यो बैठकले कूटनीतिको टेबलबाट युद्धको घाउ निको पार्न निकै कठिन छ भन्ने तथ्यलाई पुनः पुष्टि गरिदिएको छ।
वार्ताको सबैभन्दा पेचिलो विषय विश्वको ऊर्जा मेरुदण्ड मानिने ‘होर्मुज जलमार्ग’ बन्यो। इरानले यसलाई आफ्नो बलियो रणनीतिक कार्डका रूपमा प्रयोग गर्दै अमेरिकाले सही सम्झौता नगरेसम्म यो मार्ग नखुल्ने चेतावनी दिएको छ। उता राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको विषयमा विरोधाभाषपूर्ण अभिव्यक्ति दिएपछि अन्यौलता झन् बढेको छ। यदि यो जलसन्धि चाँडै खुलेन भने विश्व बजारमा तेलको मूल्य अझै आकासिने र त्यसले विश्वव्यापी मुद्रास्फीति निम्त्याउने खतरा बढेर गएको छ।
वार्ता असफल हुनुको अर्को मुख्य कडी इरानको परमाणु कार्यक्रम रहेको अमेरिकी पक्षले दाबी गरेको छ। उपराष्ट्रपति जेडी भान्सका अनुसार अमेरिकाले इरानबाट भविष्यमा कहिल्यै परमाणु हतियार नबनाउने ‘पक्का र दीर्घकालीन’ प्रतिबद्धता खोजेको थियो, जसमा इरान सहमत हुन सकेन। इरानका युरेनियम संवर्द्धन केन्द्रहरू क्षतिग्रस्त भए पनि उसको ‘नियत’ माथि अमेरिकाले अझै शंका गरिरहेको छ भने इरानले चाहिँ अमेरिकाले युद्धको मैदानमा गुमाएको कुरा वार्ताबाट खोस्न खोजेको आरोप लगाएको छ।
असफल वार्ताका बीच पनि पाकिस्तानको मध्यस्थकर्ताको भूमिका भने निकै चर्चामा रह्यो। उपप्रधानमन्त्री इशाक डार र सेना प्रमुख सैयद आसिम मुनीले दुई कट्टर प्रतिद्वन्द्वीलाई एउटै टेबलमा ल्याउन २४ घण्टासम्म निरन्तर प्रयास गरे। अमेरिकी टोलीले पाकिस्तानी आतिथ्य र प्रयासको खुलेर प्रशंसा गर्दै वार्ता असफल हुनुमा मध्यस्थकर्ताको कुनै दोष नरहेको प्रस्ट पारेको छ। यद्यपि, इरानी पक्षले अमेरिकी सर्तहरू निकै जटिल र यथार्थपरक नभएको टिप्पणी गर्दै वासिङ्टनतर्फ बल फालिदिएको छ।
हाल दुई साताका लागि अस्थायी युद्धविराम जारी रहे पनि अर्को चरणको वार्ताको कुनै निश्चित मिति वा स्थान तय हुन सकेको छैन। इरानी प्रवक्ता इस्माइल बगाईले एउटै बैठकमा सबै कुरा मिल्छ भन्नु अस्वाभाविक हुने बताए पनि समय घर्किँदै जाँदा तनाव पुनः बढ्ने संकेत देखिएको छ। अबको भविष्य अमेरिकाको ‘यथार्थपरक’ सोच र इरानको ‘असल विश्वास’ मा निर्भर रहने देखिन्छ। होर्मुज जलमार्गको अवरोध र परमाणु विवादको गाँठो नफुकेसम्म मध्यपूर्वको शान्ति र विश्व अर्थतन्त्रको स्थिरता अझै केही समय जोखिममै रहने पक्का छ।
