इन्धन संकट टार्न महानगरको कदम: अब एउटै गाडीमा धेरै कर्मचारी
काठमाडौं । बढ्दो इन्धन संकट र आर्थिक भारलाई कम गर्न काठमाडौँ महानगरपालिकाले एक कदम चालेको छ। महानगरका अधिकारीहरूले अबदेखि व्यक्तिगत रूपमा गाडी चढ्नुको साटो ‘कार पुलिङ’ अर्थात् सवारी साधन बाँडेर चढ्ने प्रणाली अपनाउने भएका छन्। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन अभावले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र अत्यावश्यक सेवाका लागि इन्धन जोगाउन यो नवीन प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
सामूहिक यात्राको अवधारणा महानगरले यस प्रणालीलाई प्रभावकारी बनाउन कर्मचारीहरूको बसोबास क्षेत्रका आधारमा विभिन्न समूहहरू विभाजन गरेको छ। एउटै रुट वा छिमेकी क्षेत्रमा बस्ने अधिकारीहरूले अब छुट्टाछुट्टै गाडी निकाल्नु पर्ने छैन। यसअघि ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरेको महानगरले सोही लक्ष्य प्राप्तिका लागि ‘कार पुलिङ’ लाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न थालेको हो।
‘कार पुलिङ’ प्रणाली अन्तर्गत समूहमा रहेका अधिकारीहरूले आफूसँग भएका सरकारी सवारी साधनहरू आलोपालो गरी प्रयोग गर्नुपर्नेछ। कार्यालय आउँदा वा घर फर्कँदा एउटै क्षेत्रका अन्य सहकर्मीहरूलाई पनि सोही गाडीमा ल्याउने र लैजाने व्यवस्था मिलाइएको छ। यसले गर्दा सडकमा गुड्ने महानगरका सवारी साधनको सङ्ख्यामा उल्लेख्य कमी आउने र इन्धनको ठुलो हिस्सा बचत हुने अपेक्षा गरिएको छ।
विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको असर नेपालमा पनि पर्न सक्ने कुरालाई मध्यनजर गर्दै महानगरले पूर्वतयारी स्वरूप यो कदम चालेको हो। “पहिलेकै शैलीमा गाडी चलाउँदा भोलि अत्यावश्यक कामकै लागि तेल नपाइने अवस्था आउन सक्छ,” कार्यवाहक प्रमुख डंगोलले भनिन्। अनावश्यक खर्च कटौती गर्ने र इन्धनको प्रयोग घटाउने विकल्प नभएकाले नै महानगरले यो प्रणालीलाई प्राथमिकता दिएको हो।
महानगरपालिकाको कार्यशैलीमा सुधार ल्याउनुका साथै अन्य सरकारी निकायहरूलाई पनि खर्च कटौतीका लागि प्रेरणा दिने देखिन्छ। सामूहिक यात्राले इन्धन मात्र बचाउँदैन, यसले सडकको ट्राफिक जाम कम गर्न र वातावरणीय प्रदूषण घटाउन समेत मद्दत पुर्याउँछ। महानगरको यो ‘स्मार्ट’ कदमले संकटको समयमा स्रोत र साधनको बुद्धिमानीपूर्वक प्रयोग कसरी गर्न सकिन्छ भन्ने एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
