लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको बताउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजन ल्याउन आवश्यक रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले श्रम, सिप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै वितरणले मात्र राम्रो प्रतिफल दिन नसक्ने बताउनुभयो ।
सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रूपमा समीक्षा गर्न आवश्यक रहेको भन्दै उहाँले विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सहभागी श्रममन्त्री शरतसिंह भण्डारीले नेपालीहरुले पठाउने रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न आवश्यक भएको धारणा राख्नुभयो । यसैगरी छलफलमा सहभागि राष्ट्रिय योजना आयोग सदस्य डा। प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रम समीक्षा गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
