सगरमाथा संवादको तयारी पुरा ४० देशका प्रतिनिधि सहभागि हुने

काठमाडौं । सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ ।
संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।
संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौँको होटल सोल्टीमा हुने संवादलाई सफल बनाउन अन्तरराष्ट्रिय मापदण्डअनुसार सबै तयारी गरिएको छ । संवादमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी करिब चार सय विशिष्ट व्यक्तित्वको सहभागिता रहने बताइएको छ ।
संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक उच्चस्तरीय प्लेनरी छलफल हुने, विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको छ ।
संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि समेत उपयोगीसिद्ध हुने बताइएको छ ।