यसपालिको मनसुनमा औसतभन्दा अधिक वर्षा र गर्मी

 यसपालिको मनसुनमा औसतभन्दा अधिक वर्षा र गर्मी

जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।

विभागले ललितपुरमा बुधबार आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम’ मा मौसमविद्हरूले यसपालि वर्षा र गर्मी धेरै हुने प्रक्षेपण सार्वजनिक गरेका हुन्।

विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्।

‘यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ। यस्तै, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ। यो पनि ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ। मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि यस वर्ष पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको छ,’ उनले भनिन्।

विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताइन्। लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने उनको भनाइ छ।

यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकोले तयारी अवस्थामा बस्नुपर्ने उनको भनाइ थियो।

मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास उनको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *