प्रदेश सरकारहरू आज बजेट सार्वजनिक गर्दै, कसको बजेट कति

काठमाडौं — सातवटै प्रदेश सरकारहरू आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले आ–आफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।
संविधानअनुसार संघीय सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते, र स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ। सोही अनुसार, प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेका छन्।
यस वर्षको बजेटले आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, पूर्वाधार विस्तार, तथा कृषि तथा ऊर्जा क्षेत्रमा लगानीलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो वर्षको बजेट आकारजस्तै नयाँ बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याएको प्रदेशले आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा नयाँ बजेट प्रस्तुत गर्दैछ। आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट पेस गर्ने छन्।
बागमती प्रदेश
संघीय राजधानी रहेको बागमती प्रदेशले सबैभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा करिब ६८ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरिनेछ। अघिल्लो वर्ष बागमतीको बजेट ६२ अर्ब ७० करोड थियो। यो बजेटमा सहरी पूर्वाधार, यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो हिस्सा छुट्याउने अनुमान छ।
अन्य प्रदेशहरूको अघिल्लो वर्षको बजेट स्थिति
-
मधेश प्रदेश: ४४ अर्ब ११ करोड
-
कोशी प्रदेश: ३६ अर्ब २४ करोड ३५ लाख
-
गण्डकी प्रदेश: ३३ अर्ब ४२ करोड ७२ लाख
-
लुम्बिनी प्रदेश: ४० अर्ब ४७ करोड ९७ लाख
आगामी बजेटबाट अपेक्षा
देशमा आर्थिक मन्दी, बेरोजगारी र महँगीको चाप बढिरहेको सन्दर्भमा प्रदेश सरकारले ल्याउने बजेटले राहत दिने नीति र कार्यक्रम समेट्ने सार्वजनिक अपेक्षा रहेको छ। सामाजिक सुरक्षादेखि उत्पादनमुखी कार्यक्रमसम्मका योजना बजेटमार्फत अघि बढाइने विश्वास गरिएको छ।
विशेषगरी युवाहरूका लागि उद्यमशीलता प्रवर्द्धन, कृषि आधुनिकीकरण, सीपमूलक तालिम, तथा महिला तथा पिछडिएको वर्गको सशक्तिकरणका कार्यक्रमहरू बजेटको केन्द्रमा रहने अनुमान गरिएको छ।
प्रदेश सरकारहरूको आजको बजेट घोषणालाई प्रदेश विकासको दिशामा एउटा निर्णायक कदमको रूपमा हेरिएको छ।