बर्दघाट नजिकै सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण अवरुद्ध, हजारौं यात्रु अलपत्र

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलाभन्दा करिब डेढ सय मिटर अगाडि सडक भासिएपछि पूर्व–पश्चिम राजमार्गको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोमबार राति अचानक सडक भासिँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको ट्राफिक प्रहरीले जनाएको छ। सडक भासिएको खण्डमा करिब १५ मिटर जति भाग जमिनसँगै भासिएको र वरपर थप भासिने खतरा देखिएको बताइएको छ। घटनापछि राजमार्गमा यात्रा गरिरहेका हजारौं यात्रु र सवारी साधनहरू बाटो खुल्ने प्रतीक्षामा रोकिएका छन्।
घटनास्थलमा सडक विभाग, ट्राफिक प्रहरी र स्थानीय निकायका टोली पुगेर तत्काल वैकल्पिक बाटो निर्माण र सडक मर्मतका काम भइरहेको छ। तर, वर्षा अझै जारी रहेकाले तत्काल सडक सञ्चालनमा कठिनाइ हुने अनुमान गरिएको छ।
स्थानीयवासीका अनुसार केही दिनदेखि सो क्षेत्रको जमिन कमजोर देखिन थालेको थियो तर अचानक भासिने घटना यसरी ठुलो क्षति पुर्याउने अपेक्षा गरिएको थिएन।
अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन। तर, लामो समयसम्म राजमार्ग अवरुद्ध रहँदा यात्रु र सवारी चालकहरूलाई ठूलो समस्या भएको छ।
सडक विभागले तत्काल वैकल्पिक बाटोबाट साना सवारी साधनलाई मात्र चलाउन सकिने र ठूला सवारीका लागि केही समय लाग्ने जानकारी दिएको छ।