आठ लाख १६ हजार हेक्टरमा रोपाइँ सम्पन्न, तर गत वर्षभन्दा कम

काठमाडौँ – देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको हो। यो संख्या गत वर्षको सोही अवधिभन्दा करिब ८ प्रतिशतले कम हो।
प्रदेशगत विवरण हेर्दा, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रोपाइँ भएको छ, जहाँ करिब एक लाख ६४ हजार हेक्टर क्षेत्रफलमा ९३ प्रतिशत रोपाइँ सकिएको छ। कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा ८३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा ७३ प्रतिशत रोपाइँ भइसकेको छ।
गत वर्ष यसै समयमा करिब ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। मन्त्रालयको अनुमानअनुसार आगामी साउन अन्तिम सातासम्म कुल ९८ प्रतिशत रोपाइँ हुने छ।
मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार मुलुकको कूल धान उत्पादनमा तराईको योगदान ७० प्रतिशत छ भने पहाडी क्षेत्रबाट ३० प्रतिशत उत्पादन हुने गरेको छ।
गत वर्ष ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो। यसवर्ष पनि करिब ६० लाख मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिएको छ। त्यसबाट करिब ३५ लाख मेट्रिकटन चामल उत्पादन हुने मन्त्रालयको अनुमान छ।
मुलुकमा करिब १४ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ। मौसम, दैवी प्रकोप, अतिवृष्टि र अनावृष्टिका कारण केही क्षेत्रमा ढिलो रोपाइँ हुन पुगेको भए पनि प्रविधि र उन्नत बीउका कारण उत्पादन वृद्धि हुने आशा व्यक्त गरिएको छ।
मन्त्रालयका अनुसार धान उत्पादनमा १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब एक प्रतिशत असर पर्ने देखिएको छ।