सहकारी नियमन प्राधिकरणको जिम्मा पाउने डा. खगराज शर्मा को हुन ?

 सहकारी नियमन प्राधिकरणको जिम्मा पाउने डा. खगराज शर्मा को हुन ?

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमाले सहकारी विभागका सदस्य डा। खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र नेकपा एमाले सहकारी विभाग सदस्य डा. खगराज शर्माको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा परेका मध्येबाट सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो । सिफारिस समितिले छनोट गरेको ३ जनामा पर्दा समेत उनले पार्टीको जिम्मेवारीबाट राजीनामा नदिएको स्रोत बताउँछ ।

सिफारिस समितिले पनि राजनीतिक दलको जिम्मेवारीमा रहेको व्यक्तिलाई जनाजान सिफारिस गरेको थियो । राजनीतिक पार्टीको जिम्मेवारीमा भएको व्यक्ति प्राधिकरणको अध्यक्ष बन्न मिल्ने देखिदैन ।

आवेदनका क्रममा उम्मेदवारले राजनीतिक सदस्यता भएरनभएको स्वघोषणा गर्ने व्यवस्था छ । सिफारिस समितिले पनि यस्तो विषयलाई ध्यानमा राखेर सिफारिस गर्नु पर्नेमा त्यस्तो गरेको थिएन ।

शर्मा लुम्बिनी विशिष्टिकृत सहकारी संघको अध्यक्ष भएका थिए । त्यसभन्दा अघि सिद्धार्थ बहुउद्देशीय सहकारीका अध्यक्ष पनि भएका छन् ।

राममणि क्याम्पसमा अध्यापन गरेका शर्मालाई क्याम्पस व्यवस्थापनले बर्खास्त गरेपछि सहकारी अभियानमा जोडिएका थिए । शैक्षिक रुपमा सहकारीमा विद्यावारिधि गरेका शर्मा सहकारी अभियन्ता हुन् ।

प्राधिकरण अध्यक्षका लागि एमाले सहकारी विभाग सचिव तथा सहकारी महासंघ सञ्चालक परितोष पौडेल सहित ६ जनाको आवेदन परेको थियो ।

आवेदन दिनेमा अर्जुन पोखरेल, हरि नेपाल, नारायणप्रसाद पौडेल, सहकारी बोर्डका वरिष्ठ अधिकृत अनिल पौडेल र सहकारी विकास बोर्डका पूर्व सदस्यसचिव तथा नेकपा एमाले सहकारी विभाग सदस्य डा। शर्मा थिए ।

सहकारी ऐन २०७४ को दफा १०३ (ङ) बमोजिम लोक सेवा आयोगको संयोजकमा सिफारिस समिति गठन भएको थियो । समितिमा पूर्व सचिव सुमन शर्मा र विज्ञसदस्य गुणनिधि भुसाल विज्ञ सदस्य थिए ।

सो समितिले आवेदकहरुको अनुभव, व्यवसायिक कार्ययोजना मूल्यांकन, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो । त्यसका आधारमा योग्यताक्रम निर्धारण हुँदा शर्मा पहिलो र पोखरेल दोस्रो नम्बरमा परेका थिए ।

पहिलो नम्बरमा परेका शर्मालाई मन्त्रिपरिषद बैठकले प्राधिकरणको जिम्मा दिएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *