प्रधानमन्त्री ओलीको भनाइ: “श्रम बिना प्रगति सम्भव छैन, श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन” न्यूनतम पारिश्रमिक वृद्धि र सामाजिक सुरक्षामा २१ लाख श्रमिकको सहभागिता
काठमाडौं, साउन २ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक वर्गप्रति सरकारको प्रतिबद्धता पुनः दोहोर्याउँदै श्रम र श्रमिकको सम्मान समृद्ध राष्ट्र निर्माणको आधार हुने स्पष्ट पारेका छन्।
उनका अनुसार, “श्रम बिना प्रगति सम्भव छैन, र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।”
प्रधानमन्त्री ओलीले भने, “हामीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने ऐतिहासिक कदम चालेका थियौं। त्यस योजनामा अहिलेसम्म २१ लाख श्रमिक आबद्ध भइसकेका छन्।”
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
सरकारले हिजोदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७,३०० बाट बढाएर १९,५५० रुपैयाँ पुर्याउने निर्णय गरेको छ।
यो निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो।
प्रधानमन्त्री ओलीले यो कदमलाई श्रमिकप्रतिको भरोसा र सम्मानको अभिव्यक्ति भएको बताए।
“श्रमिकलाई एक मुट्ठी भरोसा दिन सक्यौं भने त्यो विश्वास नै समृद्ध नेपालको जग हुनेछ,” उनले भने।
प्रधानमन्त्री ओलीको भनाइअनुसार, देशको निर्माण र विकासमा योगदान दिने श्रमिक वर्गलाई सुरक्षा, पारिश्रमिक र सम्मान दिने नीति–कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको छ।
