अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, साउन ५, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का० का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको थियो ।
द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि सम्पन्न गरिएको छ । चितवनको भरतपुरस्थित वि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदादी पत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ ।
भरतपुर स्थित वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पातालमा १ हजार ८ सय ३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ ।
यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्ने विश्वस लिइएको छ । सम्झौता अनुसार अब निजामती कर्मचारी अस्पातालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ । यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यसबाट १ हजार २ सय ७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ ।
यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ। यही अवसरमा रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ ।
यसबाट रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धि सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिनुभयो।
साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाईमा पुर्याउने बताउनुभयो ।
अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने र यो नेपाली जनताको लागि फाइदाजनक हुने बताउनुभयो ।
उहाँले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।