अख्तियारको वार्षिक समिक्षा सम्पन्न: ३७ हजार उजुरी, १३७ मुद्दा दायर, ५.९७ अर्बको बिगो माग

 अख्तियारको वार्षिक समिक्षा सम्पन्न: ३७ हजार उजुरी, १३७ मुद्दा दायर, ५.९७ अर्बको बिगो माग

काठमाडौँ, २९ साउन  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/०८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। आयोगको केन्द्रीय कार्यालय टंगालमा साउन ८ र ९ गते आयोजित कार्यक्रममा आयोगका आठै कार्यालयहरूको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरियो।

कार्यक्रममा प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको पहिलो जिम्मेवारी सम्बन्धित कार्यालय र सरकार प्रमुखको हुने स्पष्ट पार्नुभयो। उहाँले, “भ्रष्टाचार भएपछि मात्रै कारबाही गर्ने हैन, भ्रष्टाचार नै नहोस् भन्ने सोचसहित आयोग अगाडि बढेको छ,” भन्दै गोलमटोल उजुरी बढिरहेको अवस्थामा तथ्य, प्रमाणसहित उजुरी दिने संस्कार विकास गर्न जरुरी रहेकोमा जोड दिनुभयो।

राईले छिटोछिटो हुने कर्मचारी सरुवाले अनुसन्धानमा अवरोध सिर्जना हुने पनि औँल्याउनुभयो। साथै, आयोगले गर्ने सबै काम र सुझावहरू कानुन, विधि र प्रणालीको आधारमा हुने स्मरण गराउँदै अनुसन्धान प्रक्रियामा कुनै कमजोरी नहुने गरी अगाडि बढ्न निर्देशन दिनुभयो।

समिक्षा कार्यक्रममा आयुक्त किशोर कुमार शिलवालले ५ वर्षे रणनीति अनुरूप कार्यसम्पादन गर्न सके मात्र आयोगको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो। आयुक्त जय बहादुर चन्दले कार्यसम्पादन प्रभावकारी बनाउन सकारात्मक वातावरणको खाँचो औँल्याउनुभयो।

त्यस्तै, आयुक्त डा. हरी पौडेलले विभिन्न चरणको छलफलले उजुरीको छानबिन र अनुसन्धानमा वास्तविकतासम्म पुग्न सहयोग हुने बताउनुभयो। आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले सोच परिवर्तनले कर्मचारीको व्यवहारमा परिवर्तन ल्याउन सकिने बताउँदै सबैलाई उदाहरणीय बन्न आग्रह गर्नुभयो।

आयोगका सचिव डा. नारायण शर्मा दुवाडीले साझा लक्ष्य प्राप्तिका लागि साझा प्रतिवद्धताको आवश्यकता औंल्याउँदै, सबैको योगदानबाट नै आयोगले वर्तमान सफलता हासिल गरेको बताउनुभयो।

कार्यक्रममा प्रमुख आयुक्त, आयुक्तहरू, सचिव, महाशाखा प्रमुखहरू, मातहत कार्यालय प्रमुखहरू, अनुसन्धान अधिकृतहरू तथा भर्चुअल माध्यमबाट अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आयोगको उजुरी प्राप्ति, अनुसन्धान, अभियोजन, नविनतम कार्यहरू तथा आगामी कार्यदिशाको विषयमा व्यापक छलफल भएको थियो।

आर्थिक वर्ष २०८१/०८२ मा आयोगमा विभिन्न माध्यमबाट २८,५९७ नयाँ उजुरी प्राप्त भएका थिए। अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ८,४२९ उजुरीसहित कुल ३७,०२६ उजुरीमध्ये २९,७०३ उजुरीको छानबिन तथा अनुसन्धान पूरा भई फछ्र्यौट गरिएको छ। बाँकी ७,३२३ उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको छ।

त्यसैगरी, ६,७१५ उजुरी सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाइएको छ भने ५८६ उजुरी सुझाबसहित कार्यान्वयनका लागि पठाइएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *