काठमाडौंमा सासेक भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्य सुदृढको एजेण्डा

 काठमाडौंमा सासेक भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्य सुदृढको एजेण्डा

काठमाडौं, २६ श्रावण २०८२ –
दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रका भन्सार अधिकारीहरूको तीन दिने बैठक काठमाडौंमा सुरु भएको छ।

नेपालले आयोजना गरेको उक्त बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।

बैठकको उद्घाटन गर्दै अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सीमापार व्यापारलाई सहज र द्रुत बनाउन ठोस सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँका अनुसार भन्सार प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग र समन्वयात्मक सीमा व्यवस्थापनले ढिलाइ घटाउने, पारदर्शिता बढाउने र क्षेत्रीय आर्थिक समृद्धि हासिल गर्ने साझा लक्ष्य पूरा गर्न मद्दत पुर्‍याउनेछ।

सासेक भन्सार उपसमूहका अध्यक्ष तथा भन्सार विभागका महानिर्देशक महेश भट्टाराईले यस बैठकले सदस्य राष्ट्रबीच सीमापार व्यापार, भन्सार प्रक्रिया र यातायात व्यवस्थापनमा सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले डिजिटल प्रविधिको प्रयोगले सीमा पार व्यापारलाई छिटो, सजिलो र पारदर्शी बनाउनेतर्फ सदस्य राष्ट्रहरू अग्रसर भएको बताउँदै, यस्ता बैठकहरूले त्यस्ता पहललाई थप गति दिने उल्लेख गर्नुभयो।

भन्सार विभागका निर्देशक नारायण प्रसाद रेग्मीका अनुसार बैठकमा प्रमुख सीमा नाकामा कागजात आदान–प्रदान, आयात–निर्यात वस्तुको विवरणसहितको पूर्व–सूचना प्रणाली विकास, इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमको प्रयोग, सीमा व्यवस्थापन तथा यातायात सहजिकरण लगायतका विषयमा विस्तृत छलफल हुने उल्लेख गर्नुभयो ।

सहभागी देशका प्रतिनिधिहरूले प्रक्रियागत जटिलता र ढिलाइ कम गर्न आधुनिक प्रविधि र अन्तर–सरकारी समन्वयलाई अनिवार्य बताउँदै, क्षेत्रीय व्यापार सम्बन्धी साझा नीति निर्माण, भन्सार प्रक्रियाको पूर्ण डिजिटलाइजेसन, पूर्वाधार विकास र सूचना प्रविधि प्रवर्द्धनका उपायहरू अघि सार्ने अपेक्षा व्यक्त गरेका छन्।

तीन दिनसम्म चल्ने यो सम्मेलनले भन्सार र सीमा व्यवस्थापनमा क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *